कोरोना उपचारका लागि चार्टड विमानमा ३४ डाक्टर सुदूरपश्चिम जाँदै
काठमाडौँ, ५ बैशाख । कोरोना भाइरस रोगको उपचारका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा अध्ययनरत ३५ जना डाक्टर सुदूरपश्चिम जाँदैहुनुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिउँसो १ बजे यति एयरलाइन्सको विमान चार्टड गरि ३५ जना डाक्टर सुदूरपश्चिम प्रदेश पठाउन लागेको सहसचिव रघु विष्टले जानकारी दिनुभयो ।
उहाँले डाक्टरहरु निकै उत्साहका साथ सुदूरपश्चिम जान लागेको बताउनुभयो । विषम परिस्थितिमा डाक्टरहरुले देखाउनुभएको उत्साहको प्रशंसा गर्दै सहसचिव विष्टले सरकारले स्वास्थ्य क्षेत्रमा गरेको लगानीको प्रतिफल देखिन सुरु भएको बताउनुभयो । उहाँले सुदूरपश्चिम जानेहरुमा एमडी अन्तिम वर्ष र तेस्रो र दोस्रो वर्षका एनेस्थिेसिया, इन्टरनल मेडिसिन र पेडिट्रीसियनहरु रहेको बताउँदै डाक्टरहरुलाई एक महिनाका लागि खटाइएको जानकारी दिनुभयो ।
यसैगरी हेटौडामा पनि काठमाडौंबाट स्त्रीरोग विशेषज्ञ पठाउने तयारी भएको छ । ४–५ जनाको टोली एक दुई दिनमा हेटौडा पठाइँने विष्टले बताउनुभयो । यस्तै उहाँका अनुसार धरानमा पनि ३२ जना डाक्टरको टोली खटाउने निर्णय भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत