कोरोनाकाे कारण खोप कार्यक्रम प्रभावित हुँदा दादुराको महामारी फर्कने डर
काठमाडौं, ४ बैशाख । कोरोना भाइरस रोगको महामारी नियन्त्रणका लागि अहिले आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द गरिएका छन् । स्वास्थ्यका अन्य नियमित कार्यक्रमहरु पनि स्थगित गरिएका छन् । कोरोना महामारीका कारण विश्वमा नियमित दादुरा खोप कार्यक्रमहरु सञ्चालनमा समस्या भएको छ । जसका कारण बालबालिकामा दादुराको महामारी देखिनेमा यूनिसेफले चिन्ता व्यक्त गरेको छ ।
यूनिसेफका अनुसार हाल ३७ देशका ११ करोड ३७ लाख बालबालिका समयमा नै खोप लगाउनबाट बञ्चित भएका छन्,यदि समयमा नै खोप लगाउन नसके युरोप सहितका देशमा दादुरा केसहरु देखिनेछ । विश्व स्वास्थ्य संगठनले दादुरा रुबेलाका बिरामी नदेखिएका देशहरुले केही समयलाई खोप कार्यक्रम रोक्न आग्रह गरेको छ । यूनिसेफका प्रवक्ता जोयना रियाले खोपबाट छुटेका बालबालिकाहरुलाई खोप कार्यक्रम सञ्चालन हुने बित्तिकै खोप लगाउन अभिभावहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाल, बंगलादेश, ब्राजिल, बोलीभिया, कम्बोडिया, चाद, चिली, कोलोम्बिया, जीबौउटी, दि डोमिनीसियन रिपव्लिक, कंगो, लेबनान, माल्दिभ्स, मेक्सिको, नाइजेरिया, पाराग्गे, सोमालिया, दक्षिण सुडान, युक्रेन गरि २४ वटा देशमा दादुरा रुबेलाको सामना गरिरहेको छ ।
नेपालमा दादुरा रुबेलाको अवस्था
विगत ३ वर्षदेखि नेपालमा लगातार दादुरा रुबेलाबाट संक्रमित हुने बालबालिकाको संख्या बढ्दै गएको छ । सन् २०१७ मा दादुराका ९९ र रुबेलाका बालबालिकाको संख्या २१ रहेकोमा सन् २०१८ र २०१९ मा दुवै रोगका बालबालिकाका संख्या निरन्तर बढेको छ । सन् २०१८ मा दादुराका ३ सय ६० र रुबेलाका ३४ बालबालिका भेटिए भने सन् २०१९ मा बढेर दादुराका ४ सय २८ र रुबेलाका ४४ बालबालिका भेटिएका थिए । अहिले २१ प्रतिशत बालबालिका पूर्ण खोपबाट बञ्चित छन् भने १ प्रतिशत बालबालिकाले कुनै पनि खोप पाएका छैनन् ।
दादुरा अति संक्रामक रोग हो
एक जनाले वरपरका १६ बालबालिका सम्म रोग सार्न सक्छ दादुरा रुबेला भाईरसबाट हुने अति संक्रामक रोग हो । दादुरा एक विरामीबाट एकैपटक वरपरका १६ जनासम्म संक्रमण हुनसक्छ । यो रोग विशेषगरि ५ वर्ष मुनिका बालबालिकामा लाग्ने गर्दछ । यो रोग विशेष गरि न्यून आय भएका विकासोन्मुख देशहरूमा धेरै हुन्छ र त्यस्ता देशहरूमा बालमृत्यु गराउने कारणहरूमा दादुरा रुबेला प्रमुख पर्दछन् ।
हेल्थपाटी
तपाईँको अभिमत