सनसिटीकी बुहारीलाई कोरोना नेगेटिभ : स्वास्थ्य मन्त्रालय
काठमाडौं, ३ बैशाख । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारको एक जनाको रिपोर्ट नेगेटिभ आएको छ । र्यापिड टेस्ट परीक्षणमा पोजेटिभ आएपछि पीसीआर मार्फत पुन परीक्षण गर्दा उहाँको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसअघि ८१ वर्षका आमा र ५८ वर्षका छोरालाई कोरोनाको पुष्टि भएको थियो ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले सनसिटी अपार्टमेन्टमा २ सय ८९ जनालाई गरिएको र्यापिड टेस्टमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । तीन जना सनसिटी अपार्टमेन्टको ए ब्लकको १५ औं तलामा बस्दै आउनुभएको छ भने चैत ५ गते बेलायतबाट नेपाल आउनुभएको थियो ।
प्रवक्ता देवकोटाले १४ वटा जिल्लामा र्यापिड टेस्ट सुरु हुन बाँकी रहेको जानकारी दिनुभयो । हालसम्म ६३ जिल्लामा र्यापिड टेस्ट बाट ८ हजार ९ सय २९ जनाको परीक्षण भएको छ । र्यापिड टेस्टमा रगतको परीक्षण गरिन्छ । उहाँले पीसीआर मार्फत ६ हजार ९ सय २९ जनाको परीक्षण भएको छ । अहिले काठमाडौंमा ११ र बाहिर १ सय ६ गरि १ सय १७ जना आइसोलेसनमा रहेका छन् ।
र्यापिड टेस्ट हुन बाँकी १४ जिल्ला
प्रदेश नं १ – ७ वटा
प्रदेश नं २ – ३
प्रदेश न. ५ – १
गण्डकी प्रदेश – १
कर्णाली – २
बाग्मती र सुदूरपश्चिमका सबै जिल्लामा र्यापिड टेस्ट सुरु भइसकेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत