र्यापिड टेस्टमा थप ५ जनालाई कोरोना पोजेटिभ
काठमाडौं, ३ बैशाख । र्यापिड टेस्ट(आरडिटी)मा काभ्रेपलाञ्चोक, गोरखा, धादिङ र सप्तरीमा गरि पाँच जनामा कोरोना पोजेटिभ देखिएको छ । गोरखाको आरुघाट गाउँपालिकामा एक युवकमा कोरोना पोजेटिभ देखिएपछि स्वाब परीक्षणका लागि पोखरा प्रयोगशाला ल्याइएको छ । पोजेटिभ देखिएको युवा चैत १ गते बहराइनबाट नेपाल आउनुभएको थियो । उहाँसँगै २० जनाको आरडिटि टेस्ट गरिएको थियो ।
यसैगरी सप्तरीमा दुईजनामा आरडिटी टेस्टले कोरोना संक्रमण देखाएको छ । दिल्लीको निजामुद्दिन स्थित तबलिकी जमातमा सहभागी भई फर्केका आठ मध्ये २ मा संक्रमण देखिएको हो । उहाँहरु फागुन २५ र २६ गते मस्जिदमा आयोजित धार्मिक भेलामा सहभागी भई फर्कनुभएको थियो । गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका प्रमुख चुमनलाल दासले दुबै जनाको स्वाब पीसीआर टेस्टका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको बताउनुभयो ।
काभ्रेपलाञ्चोकको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा र्यापिड टेस्ट मार्फत गरिएको परीक्षणमा दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । बेथान्चाेक गाउँपालिका वडा नम्वर ५ का २८ वर्षका युवालाई आरडिटी परीक्षणमा पोजेटिभ देखिएको हो । उहाँ चैत ९ गते भारतबाट नेपाल आउनुभएको थियो । उहाँसँगै अर्का दुई जनालाई गरिएको परीक्षणमा नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख सीताराम तिमल्सिनाले जानकारी दिनुभयो ।
मण्डनदेउपुरमा वडा नम्वर ३ मा २३ वर्षका युवालाई पनि पोजेटिभ देखिएको छ । दुबै जनाको स्वाब परीक्षणका लागि धुलिखेल अस्पताल ल्याइएको छ । २३ वर्षका युवा चैत ७ गते दुबईबाट आउनु भएको थियो । काभ्रेमा फागुन ३० यता भारत लगायत तेस्रो मुलुकबाट २ सय ५१ जना फर्किएको तथ्यांक छ ।
यस्तै धादिङ ज्वालामुखी गाउँपालिकामा पनि एक जनामा पोजेटिभ देखिएको छ । भारत लगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसिरहेका ३५ जनाको र्यापिड टेस्ट गर्दा २७ वर्षका युवालाई पोजेटिभ देखिएको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिनुभयो । युवाको स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं ल्याउने तयारी भएको छ पोजेटिभ देखिएका युवा दक्षिण कोरियाबाट फागुन २१ गते फर्किएका थिए ।
यसअघि पनि र्यापिड टेस्टमा पोजेटिभ देखिएका २ जनालाई पीसीआर टेस्टमा पनि पोजेटिभ देखिएको थियो । नेपालमा कोरोना संक्रमणको संख्या १६ पुगेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत