आकस्मिक अवस्थामा ६ घण्टामै नतिजा निकाल्न सकिन्छ : राष्ट्रिय प्रयोगशाला
काठमाडौं, २ बैशाख । पछिल्लो २४ घण्टामा देशभर पीसीआर मार्फत ७ सय ८१ वटा कोरोना नमुना परीक्षण भएको छ । जसमध्ये २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यो संख्या नेपालमा संक्रमणको संख्या १६ पुगेको छ । वीरगञ्जमा ४, सेती प्रादेशिक अस्पतालमा ५, धौलागिरि अञ्चल अस्पतालमा २, टेकु अस्पतालमा २ र पाटन अस्पतालमा २ जनाको उपचार भइरहेको छ । संक्रमित मध्ये पहिलो संक्रमित निको भएर घर गइसक्नु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म पीसीआर मार्फत ६ हजार २ सय ९९ र आरडीटीबाट ६ हजार ६ सय ७ गरि जम्मा १२ हजार ९ सय ६ जनाको परीक्षण भएको जानकारी दिनुभयो । उहाँले देशभर ९९ जना आइसोलेसनमा रहेको जानकारी दिनुभयो । जसमा काठमाडौंमा १२ र काठमाडौं बाहिर ८७ जना रहेका छन् ।
ब्रिफिङमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुना झाले आकस्मिक समयमा पीसीआर मार्फत ६ घण्टामा परीक्षण गर्न सकिने र अन्य समयमा २४ देखि ७२ घण्टा लाग्ने बताउनुभयो ।
उहाँले र्यापिड टेस्टको उद्देश्य धेरैभन्दा धेरै नमुना परीक्षण गर्ने र कोही शंकास्पद नछुटुन् भन्ने रहेको बताउँदै यसबाट नतिजा १५ मिनेटमा नै आउने र थप निर्क्यौल गर्न पीसीआर मार्फत पुन परीक्षण गर्नुपर्ने जानकारी दिनुभयो ।
हालसम्मका संक्रमणका घटना
१. बैशाख २ गते पेप्सिकोलामा रहेको सनसिटी अपार्टमेन्टका बस्दै आउनुभएका एकै परिवारका दुई जनालाई कोरोनाको पुष्टि भयो । संक्रमण देखिएकोमा ८१ वर्षकी बृद्दा र ५८ वर्षका पुरुष हुनुहुन्छ । उहाँहरु आमा छोरा रहेको बुझिएको छ ।
२. बैशाख १ गते कैलालीको लम्कीमा ६५ वर्षकी बृद्दालाई संक्रमणको पुष्टि भयो । वीरगञ्जमा चिया पसल गर्दै आउनुभएकी उहाँ चैत ९ गते कैलाली जानुभएको थियो । १४ दिनको क्वारेन्टाइनको बसाईपछि आफन्तकोमा बसेको अवस्थामा रिपोर्ट पोजेटिभ आएको थियो । सामान्य तर दमको समस्या रहेकी बृद्दाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । यसैगरी सोही दिन रौतहटका १९ वर्षका युवालाई पनि संक्रमण देखिएको थियो उहाँको वीरगञ्जमा उपचार भइरहेको छ ।
३. चैत २९ गते वीरगञ्जमा उपचाररत तीन जनामा कोरोना संक्रमण पुष्टि भयो । ३७, ५५ र ४४ वर्षका पुरुषमा संक्रमण देखिएको हो । तीनै जना नारायणी अस्पताल वीरगञ्जमा नै उपचाररत हुनुहुन्छ ।
४. चैत २२ गते नेपालमा एकैदिन थप तीन जनामा कोरोना भाइरस रोगको संक्रमण पुष्टि भयो । यो सँगै पहिलोपटक नेपालभित्रै अर्काे व्यक्तिमा कोरोना संक्रमण भयो र नेपाल दोस्रो चरणमा प्रवेश गर्यो । भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षका पुरुष र उत्तराखण्डबाट फर्किएका ४१ वर्षका पुरुष र कैलालीकी ३४ वर्षकी महिलालाई संक्रमण भयो । तीनै जना सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
५. चैत २० गते बेल्जियबाट कतार हुँदै आउनुभएकी १९ वर्षकी युवतीसंगै बाग्लुङकी ६५ वर्षकी बृद्दालाई संक्रमण पुष्टि भयो । उहाँ धौलागिरि अञ्चल अस्पतालमा उपचाररत हुनुन्छ ।
६. बेल्जियबाट कतार हुँदै आउनुभएकी बाग्लुङकी १९ वर्षकी युवतीलाई चैत १५ गते संक्रमणको पुष्टि भएको थियो । उहाँ पनि सामान्य अवस्थामा धौलागिरि अञ्चल अस्पतालमा उपचाररत हुनुन्छ ।
७. चैत ७ गते दुबईबाट आउनुभएका धनगढीका ३४ वर्षका युवालाई चैत १४ गते कोरोना संक्रमणको पुष्टि भयो । सामान्य अवस्थामा उहाँ धनगढीमा नै उपचाररत हुनुन्छ ।
८. चैत ६ गते दुबईबाट आउनुभएका धादिङका ३२ वर्षका युवालाई चैत १२ गते संक्रमणको पुष्टि भयो । उहाँ अहिले सामान्य अवस्थामा शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत हुनुहुन्छ ।
९. फ्रान्सबाट कतार हुुँदै आउनुभएकी १९ वर्षकी युवतीलाई चैत १० गते संक्रमणको पुष्टि भएको थियो । उहाँ अहिले सामान्य अवस्थामा शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत हुनुहुन्छ ।
१०. पुस २४ गते चीनको युहानबाट आउनुभएका २२ वर्षका युवाको स्वाब पुस २९ मा हङकङमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उहाँ नेपालमा कोरोना देखिएको व्यक्ति हुनुहुन्छ । उहाँ निको भएर लक्षणरहित अवस्थामा करिव ३ महिना अगाडि नै घर गइ सक्नुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत