अत्यावश्यक औषधिहरूको उत्पादनमा आत्मनिर्भर बनौँ : मन्त्री ढकाल
काठमाडौं, ३० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिहरूको उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभएको छ । आइतबार मन्त्रालयमा देउराली जनता फर्मास्यूटिकल्सका तर्फबाट प्राप्त एक लाख ५० हजार थान हाइड्रोक्सी क्लोरोक्वाइन सल्फेट ट्याब्लेट बुझ्दै मन्त्री ढकालले भोलिका दिनमा नेपालमा चाहिने अत्यावश्यक औषधिहरूमा आत्मनिर्भर हुन सकियोस् भन्नेर काम गर्नुपर्ने बताउनुभयो ।
मन्त्री ढकालले सम्पूर्ण औषधि व्यवसायीहरूले आफ्नो उत्पादन बढाउनु पर्ने भन्दै त्यसका लागि आवश्यक वातावरण तयार गर्नका लागि सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘औषधिहरू पर्याप्त उत्पादन गर्नुस्, उत्पादन गर्ने कुरामा कठिनाइ छन् भने ती कठिनाइ हटाउनका लागि सरकार तपाइँहरूको साथमा हुन्छ ।’
‘तपाइँहरू जस्तै व्यवसायी जो यो क्षेत्रमा लाग्नु भएको छ राज्यले उहाँहरूको संरक्षण गर्ने विकास गर्न सहयोग पुर्याउने र परनिर्भरताको यो विषयबाट माथि उठ्ने यो योजनाका साथी लाग्छौँ ।’ उहाँले भन्नुभयो ‘अफ्ठेरोमा सहयोग गर्नुभएको छ योप्रति त आभार नै छ । भोलिको दिनहरूका लागि पनि औषधि उत्पादन बढाउने गरी लाग्नुस् सरकार पूर्ण रूपमा तपाइँहरूको साथमा हुन्छ ।’
उहाँले सबै मन्छेहरूको परीक्षा अफ्ठेरोमा हुने भन्दै सजिलो बेलामा बोक्ने र सहयोग गर्नेहरू धेरै पाइने भए पनि अफ्ठेरो बेलामा राज्यको ठाउँमा हामी पनि साथै छौँ भन्ने मान्छेहरू थोरै पाइने बताउनुभयो । उहाँले उद्योगको तर्फबाट प्राप्त सहयोगका निम्ति सरकारको तर्फबाट प्रशंसा व्यक्त गर्दै धन्यवाद प्रकट गर्नुभयो ।
देउराली जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले आफू सधैँ सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । उहाँले उद्योगका तर्फबाट आगामी दिनमा पनि सहयोग गर्दै जाने बताउनुभयो । उहाँले कोरोनाको विपद् सुरू भए लगत्तै पनि विभिन्न सहयोग गरेको बताउँदै सरकारसँग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।
तपाईँको अभिमत