दक्षिण कोरियामा रहेका नेपालीले पठाए ४ हजार टेस्ट किट
काठमाडौँ, २९ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले नेपाल सरकारलाई ४ हजार ‘टेस्ट किट’ सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरियाबाट ल्याइएका ४ हजार टेस्ट किट र स्वास्थ्यकर्मीले लगाउने विशेष सुरक्षा उपकरण (पीपीई) सरकारलाई बुझाइएको हो ।
एनआरएन दक्षिण कोरियाका केन्द्रीय सदस्य बी.मणि दाहालका अनुसार, एनआरएन दक्षिण कोरियाले दिने अरु ठूलो परिणामको सहयोग चीनबाट ल्याउनै बाँकी छ । उहाँका अनुसार, एक करोड ४० लाख रुपियाँ मूल्य बराबरको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरिएको छ ।
संघका अनुसार, कोरियाबाट ल्याइएको एउटा किटबाट १० जनाको परीक्षण गर्न मिल्ने भएकाले ४० हजार नमूना परीक्षण गर्न सकिने छ । सो किटले तीन घण्टामै नतिजा दिने जनाइएको छ । दक्षिण कोरियामा एनआरएनए र स्वतन्त्र अभियन्ताले तीन दिनमा एक करोड ४० लाख नेपाली रकम जम्मा गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा सचिव यादवप्रसाद कोइरालाले स्वास्थ्य सामग्री अभावको बेला विदेशमा रहेका नेपालीबाट प्राप्त सहयोग अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।
एनआरएनए दक्षिण कोरियाले ‘एक नेपाली एक हेल्थ किट’ नारासहित सहयोग सङ्कलन गरेको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत