स्वास्थ्य सामग्री अभावमा स्वास्थ्यकर्मीको ज्यान गए जिम्मेवार को ?
के पैसाले जीवनको क्षतिपूर्ति गर्न सक्छ
यो महामारीको समयमा जनताको स्वास्थ्यमाथि कोहि कसैले खेलबाड गर्छ, भ्रष्टाचार गर्छ वा विभिन्न बहानामा आफ्नो कर्तव्यबाट पछि हट्छ भने त्यो मानवता बिरुद्धको अपराध हो, देशद्रोह हो । त्यसलाई कानून संशाेधन गरेर भए पनि मृत्युदण्डको सजाय दिनुपर्छ ।
विश्व समुदाय नै कोरोना भाइरस रोग (कोभिड नाइन्टिन)को महामारीबाट आक्रान्त भइरहेको अवस्थामा उपचार र रोकथामका लागि चाहिने अत्यावश्यक सामग्रीको जोहो गर्नु अति जरुरी छ । नेपालमा पनि स्वास्थ्य सेवा विभागले अत्यावश्यक सामान खरिदका लागि केहि दिन अगाडि फेरि टेण्डर आव्हान गरेको छ । स्वास्थ्य सेवा विभागले सामान खरिद गर्न लागेको विषयलाई लिएर भ्रष्टाचार भयो भन्ने समाचारहरु आइरहेका छन् । भ्रष्टाचार गर्ने जो कोही भए पनि उन्मुक्ति दिन मिल्दैन । जो सुकै होस् उसलाई कडा कार्वाही हुनैपर्छ यसमा किमार्थ दुईमत छैन । अहिलेको समय यो र त्यो कारण देखाएर महामारी विरुद्ध जुध्न अत्यावश्यक सामग्री खरिदमा बाधा हुने कुनै पनि क्रियाकलाप गरिनु हुँदैन ।
यो समय महामारी रोकथामका लागि एकजुट हुने बेला हो । भ्रष्टाचार भएकै रहेछ भने प्रमाण जुटाएर राखौं । यस्तो बिपदमा पनि भ्रष्टाचार गर्नेलाई महामारी सकिएपछि त्यसको हिसाब किताब गर्नै पर्छ । अहिलेको बेला नितान्त महामारी रोक्नु हो न कि एकपछि अर्काे विवाद निकाल्दै काम गर्ने वातावरण बिगार्दै जाने हो भने राज्यले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ ।
विश्वभरि नै अहिले औषधि, उपकरण, पिपिई सहित मेडिकल सामग्रीको अभाव रहेको छ ।
केही दिन अघि मात्र स्वास्थ्य सेवा विभागमा कार्यरत लेखा प्रमुखलाई खरिद विवादमा सरुवा गरिएको भन्ने समाचारले देश तरंगित भयो । यो विषय गम्भीर छ । महामारीको संकटलाई जतिसक्दो निवारण गर्ने काममा सहयोग गर्नु राष्ट्रसेवक कर्मचारीको दायित्व हो । अहिलेको अवस्था कानूनी अड्चन देखाएर काम नगरी बस्ने पटक्कै हुँदै होइन । सामान्य अवस्थाको कानूनले रोके अध्यादेश ल्याएर भए पनि स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री कुनै पनि हालतमा व्यवस्था गर्नै पर्छ । यसो गरिरहँदा निसंदेह नियत सफा एबं देश र जनताप्रति उत्तरदायी हुनैपर्छ ।
विश्वभरि नै अहिले औषधि, उपकरण, पिपिई सहित मेडिकल सामग्रीको अभाव रहेको छ । यो मानिसको ज्यान जोगाउन नभई नहुने वस्तु हो । यसमा कुनै पनि ऐन, नियम, व्यक्ति बाधक बन्नु हुँदैन । मानिसको ज्यान सबैभन्दा पहिलो हो । मानिस बाँच्न पाउनु नैसर्गिक अधिकार हो । राज्यले यसको सुनिश्चितता गर्नै पर्छ । अहिले विश्व दोस्रो विश्व युद्धपछिको सबैभन्दा भयावह अवस्थामा छ । यस्तो अवस्थामा लेखा प्रमुख भएर सामान नकिन्ने भन्ने राय दिनु कति मानवीय हो ? कति संवेदनशील हो ? राष्ट्रप्रति कति बफादार हो ? यो अवस्थाको सृजना कसरी भयो ? यसको जवमफ जनतालाई कसले दिने हो ? सरकारले ? महानिर्देशक वा लेखा प्रमुखले ?
नेपालमा (पिपीई) अभावका कारण स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भइ मृत्यु भयो भने जिम्मेवारी कसले लिने ? के पैसाले जीवनको क्षतिपूर्ति गर्न सक्छ ?
अहिले स्वास्थ्य सामग्रीको आवश्यकता पूरा नभएको कारणले अस्पतालमा बिरामीहरुको जाँच भएको छैन । (पिपीई) व्यक्तिगत सुरक्षा सामग्रीको अभावले स्वास्थ्यकर्मीलाई तुरुन्त कोरोना भाइरस रोग सर्छ र मृत्यु पनि हुन सक्छ । संसारभरी (पिपीई) अभावमा स्वास्थ्यकर्मीलाई कोरोना सरेको छ । उपचार गर्ने स्वास्थ्यकर्मीहरु संक्रमित भइरहेका छन् मरिरहेका छन् । नेपालमा (पिपीई) अभावका कारण स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भइ मृत्यु भयो भने जिम्मेवारी कसले लिने ? के पैसाले जीवनको क्षतिपूर्ति गर्न सक्छ ?
यो महामारीको समयमा जनताको स्वास्थ्य माथी कोहि कसैले खेलबाड गर्छ, भ्रष्टाचार गर्छ वा विभिन्न बहानामा आफ्नो कर्तव्य बाट पछि हट्छ भने त्यो मानवता बिरुद्धको अपराध हो, देशद्रोह हो । त्यसलाई कानुन संसोधन गरेर भएपनि मृत्युदण्डको सजाय दिनुपर्छ, कडा भन्दा कडा कार्वाही हुनुपर्छ । अहिलेको अवस्थामा कोहि कसैलाई पनि कुनैपनि बहानामा आफ्नो कर्तव्य बाट भाग्ने छुट छैन ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत