लकडाउन खोल्न हतार गर्नु घातक : विश्व स्वास्थ्य संगठन
काठमाडौं, २९ चैत । विश्व स्वास्थ्य संगठनले लकडाउन खोल्न हतार गरिएमा त्यो घातक हुन सक्ने चेतावनी दिएको छ । महानिर्देशक डा.अधानोम टेड्रोसले सामाजिक दुरी कायम नराख्दा कोरोना संक्रमण बढ्ने भएकाले लकडाउनलाई खुकुलो बनाउन नहुने बताउनुभएको हो । उहाँले कोरोनाले अर्थतन्त्रमा असर परेको भन्दै केही देशले लकडाउनमा खुकुलो बनाउने तयारी गरेकोप्रति कडा चेतावनी दिँदै यो सबैभन्दा ठूलो गल्ति हुने बताउनुभयो ।
युरोपमा सबैभन्दा धेरै क्षति व्यहोरेको इटाली र स्पेन लकडाउन खुकुलो गर्ने तयारीमा छन् जुन घातक हुनेछ टेड्रोसले भन्नुभयो । विश्व स्वास्थ्य संगठनले लकडाउनले पारेको असरलाई मध्यनजर गर्दै यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा रणनीति बनाउन लागिरहेको उहाँले बताउनुभयो । स्पेनले सोमबारदेखि निर्माण र उत्पादन क्षेत्रका कामदारलाई काममा फर्काउने तयारी गरिरहेको छ ।
स्पेनमा हालसम्म १५ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ । इटालीका प्रधानमन्त्री गीउसेप कन्टले राष्ट्रिय लकडाउनको समय ३ मे सम्म बढाउनु भए पनि साना व्यवसायलाई मंगलबारदेखि खोल्न अनुमति दिनुभएको छ । इटालीमा संक्रमणबाट १८ हजार ८ सय जनाको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत