पछिल्लो २४ घण्टामा ६ सय ३० जनाको परीक्षण : सबैको रिपोर्ट नेगेटिभ
काठमाडौं, २८ चैत । पछिल्लो २४ घण्टामा देशभर ६ सय ३० जनाको नमुना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङ कार्यक्रममा प्रवक्ता डा.विकास देवकोटाले कोरोना भाइरस रोगको निदानका लागि परीक्षणको दायरा बढेको भन्दै पछिल्लो ६ दिनमा गरिएका १ हजार ७ सय ४३ वटा नमुना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।
प्रवक्ता देवकोटाका अनुसार देशभर हालसम्म ३ हजार ५ सय २४ जनाको नमुना परीक्षण भएको छ । आज थप ८ सय भन्दा बढीको नमुना परीक्षण भइरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाले हेलिकप्टरबाट ल्याएको डडेल्धुराको १ सय ९९, बैतडीको ४ सय २५ र कर्णालीबाट २५ गरि ७ सय ९ नमुना परीक्षण भइरहेको छ ।
अहिले देशभर १ सय २५ जना आइसोलेसनमा रहेका छन् । जसमा काठमाडौंमा १५ र बाहिर १ सय १० जना छन् । प्रवक्ता देवकोटाले हालसम्म र्यापिड टेस्ट किट बाट गरिएका ४ सय ७६ वटा नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । र्यापिड टेष्ट किटबाट कैलालीमा ३ सय ३९ ,कञ्चनपुरमा १ सय ३७ जनाको नमुना परीक्षण भएको छ । यस्तै पीसीआर मार्फत कपिलवस्तुमा २१ र बाग्लुङमा १९ जनाको नमुना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको पनि उहाँले बताउनुभयो ।
सरकारले प्रत्येक प्रदेशमा ५ हजार थान र्यापिड टेस्ट किट पठाएको छ । आजदेखि कोसी अस्पताल बिराटनगरमा पीसीआर मार्फत नमुना परीक्षण सुरु भएको छ । यो सहित देशभर ११ स्थानबाट परीक्षण भइरहेको छ । बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जनकपुर प्रादेशिक अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल धनगढी, हेटौडा, भैरहवा र चितवनबाट नमुना परीक्षण भइरहेको छ ।
नेपालमा हालसम्म संक्रमणको पुष्टि भएका ८ जना विदेशबाट फर्किएका र अर्का १ स्थानिय संक्रमण रहेको छ । विदेशबाट आएका कोरोना संक्रमण भेटिएकोमा २ जना दुबई, २ जना भारत, १ फ्रान्स, २ बेल्जियम र १ चीनबाट आएकामा छन् । संक्रमित मध्ये उपचाररत ८ जनाको अवस्था सामान्य रहेको र एक जना अढाई महिनाअघि नै निको भएर घर फर्किसक्नु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत