भारतमा कोरोना उपचारमा खटिएका डाक्टरको निधन
काठमाडौं, २७ चैत । भारतको मध्यप्रदेश इन्दोरमा कोरोना भाइरस रोगको संक्रमणबाट एक डाक्टरको निधन भएको छ । ६५ वर्षका डा.शतुरघन पञ्जवानीलाई केही दिन अगाडि कोरोना संक्रमण भएको पुष्टि भएको थियो । डा.पञ्जवानी कोरोना संक्रमितको उपचारमा अग्रस्थानमा हुनुहुन्थ्यो । कोरोना भाइरसको संक्रमण भएको समाचारहरु आएपछि उहाँले आफू ठिक रहेको भिडियो सार्वजनिक गर्दै शुभचिन्तकलाई चिन्ता नलिन आग्रह गर्नुभएको थियो ।
डा.पञ्जवानीलाई पहिला गोकुलदास र त्यसपछि सीएचएलमा उपचार भइरहेकोमा अवस्थामा सुधार नआएपछि थप उपचारका लागि अरबिन्द लगिएको थियो । कोरोनाको उपचारमा खटिएका डाक्टरको नै निधन भएपछि मध्यप्रदेश त्रसित भएको छ । इन्दोरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ भने २ सय १३ जनालाई संक्रमणको पुष्टि भएको छ । भारतमा पछिल्लो २४ घण्टामा संक्रमणबाट १७ जनाको मृत्यु भएको हुनुका साथै ५ सय ४७ जनालाई संक्रमणको पुष्टि भएको छ । भारतमा अहिलेसम्म ५ हजार ७ सय ३४ जनामा संक्रमण र १ सय ६६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत