कसरी पुगे नेपाली सांसद भारतीय क्वारेन्टाइनमा ? वीरगञ्ज त्रासमा
पर्साका प्रजिअको चरम लापर्वाही
संविधान सभा सदस्य बिचारी यादबले क्वारेन्टाइनमा पुगेका सांसद सहित सबैलाई तुरुन्तै क्वारेन्टाइनमा राख्नुपर्ने र वीरगञ्जमा कोरोना भाइरस भित्रिएमा यसको जिम्मेवारी प्रजिअले लिनपर्ने बताउनुभयो ।
काठमाडौं, २७ चैत । नेपालीको अवस्था बुझ्न भन्दै पर्साका सांसद प्रदीप यादव जम्बो टोली लिएर भारतीय क्वारेन्टाइन पुग्नुभएको छ । क्वारेन्टाइनमा अन्य व्यक्तिसँग भेटघाट गर्न दिइँदैन । सीमापारि भारतमा रोकिएका नेपालीको अवस्था बुझ्न भनेर बुधबार सांसद यादब क्वारेन्टाइन पुग्नुभयो । उहाँले दुई जना पत्रकार सहित आफू निश्चित मापदण्ड अपनाएर क्वारेन्टाइन गएको बताउनुभए पनि भीड सहित क्वारेन्टाइनमा रहेका नेपालीलाई कोठा कोठामा पुगेर भेटेको फोटो सार्वजिनक भएको छ ।
तर पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले सांसद यादव भारतीय क्वारेन्टाइन गएको भन्ने जानकारी आफूलाई नरहेको भन्दै पन्छिन खोज्नुभयो । लकडाउनको समयमा जम्बो टोली बोकेर क्वारेन्टाइन पुग्दा समेत सुरक्षाकर्मीबाट कहीँकतै रोकतोक भएन । प्रशाशनको अनुमति बिना सांसद यादव कसरी पुग्नुभयो क्वारेन्टाइन ? भन्ने हेल्थपाटीको प्रश्नमा प्रजिअ कार्कीले यसको जवाफ सांसदसँग नै माग्न भन्दै पन्छिनुभयो । तपाईसँग स्विकृत लिएको हो भनेर प्रश्न गर्दा आफूलाई जानकारी नभएको र रक्सौल प्रशासनको स्विकृतिमा जानुभएको थाहा भएको बताउनुभयो । प्रजिअको जिम्मेवारी के हो भन्ने हेल्थपाटीको अर्काे प्रश्नमा आफूले यस घटनाको छानबिन गर्ने भन्दै फोन काट्नुभयो ।
क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई भेटेर आएपछि यादव सहित उहाँसँग गएका सबै जनालाई क्वारेन्टाइनमा राखी आफ्नो क्षेत्रलाई संक्रमणको जोखिमबाट बचाउन वीरगञ्जका स्थानिय बासिन्दाले माग गरेका छन् । वीरगञ्जका संविधान सभा सदस्य बिचारी यादबले क्वारेन्टाइनमा पुगेका सांसदसहित सबैलाई तुरुन्तै क्वारेन्टाइनमा राख्नुपर्ने र वीरगञ्जमा कोरोना भाइरस भित्रिएमा यसको जिम्मेवारी प्रजिअले लिनुपर्ने बताउनुभयो । उहाँले लकडाउनको समयमा प्रजिअबाट चरम लापार्वाही भएको भन्दै यस विषयमा गृह प्रशासनले छानबसन गरी प्रजिअलाई तुरुन्तै कार्वाही गर्न माग गर्नुभयो ।
यस्तै नेकपा वीरगञ्ज महानगरपालिका अध्यक्ष रहबर अन्सारीले सांसद यादव लकडाउनको उल्लंघन गर्दै भारतीय क्वारेन्टाइन गएको र फर्किएपछि क्वारेन्टाइनमा नबसेकाले स्थानिय बासिन्दा त्रसित भएको बताउनुभयो । उहाँले संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गर्दै नागरिकलाई घरमा नै बस्न आग्रह गरिरहेकाे अवस्थामा न्युनतम सुरक्षा समेत नअपनाइकन कोरोना प्रभावित देशको क्वारेन्टाइनभित्र जानु गम्भीर गल्ति भएको बताउनुभयो ।
सांसद यादबले भने आफूले क्वारेन्टाइनमा रहेका १४ जना नेपालीलाई छुट्टाछुट्टै भेटेर फलफूल तथा एक हप्तालाई पुग्ने खाद्यन्न सामग्री सहयोग गरेको र आफू त्यहाँ पुग्दा नेपालीहरु खुशी भएको बताउनुभयो । यादबले आफूले भेटेका नेपाली सबै स्वस्थ रहेको बताउनुभयो । भारतमा संक्रमण तीब्र देखिन सुरु भएताका नै ती नेपालीहरु नेपाल फर्किएका थिए तर लकडाउनका कारण उनीहरु सिमापारि नै रोकिए । भारतीय क्वारेन्टाइनमा रुकुमका १२ जना पुरुष, एक महिला र करिव एक वर्षका बच्चा रहेका छन् ।
क्वारेन्टाइनमा त्यसरी जान पाइन्छ ?
क्वारेन्टाइनमा रहेका व्यक्तिहरु सम्भावित संक्रमित हुन् त्यसैले उनीहरुलाई १४ दिनसम्म कसैलाई भेट्न दिइँदैन । स्वास्थ्यकर्मीहरुले पनि स्वास्थ्य परीक्षण गर्दा पीपीई प्रयोग गरेर मात्रै भेट्ने तथा चेकजाँच गर्नुपर्दछ । यसअघि चीनबाट उद्दार गरि ल्याइएका विद्यार्थीहरुलाई खरिपाटी क्वारेन्टाइनमा राख्दा १७ दिनसम्म कोही कसैलाई भेट्न दिइएको थिएन ।
सांसद यादवले नेपालीको चिन्ता जताउनु सकारात्मक रहे पनि अहिलेको अवस्थामा भीड सहित न्यूनतन सुरक्षा समेत नअपनाई क्वारेन्टाइन जानु र प्रत्येकलाई भेट्नु भनेको संक्रमण भित्र्याउन उद्ध्यत हुनु हो । लकडाउनको उल्लंघन गरि वा प्रशासनको सहमतिमा कसरी सांसद त्यहाँ पुग्नुभयो ? सरकारले प्रमुख जिल्ला अधिकारीसँग तुरुन्तै जवाफ मागेर आवश्यक कार्वाही अगाडि बढाइयोस् ।
तपाईँको अभिमत