परीक्षणको दायरा बढेको छ, संक्रमण देखिएन : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोग निदानका लागि परीक्षणको दायरा बढाइएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङ कार्यक्रममा प्रवक्ता डा.विकास देवकोटाले देशभर हालसम्म २ हजार ३ सय ६० जनाको नमुना परीक्षण भएको जानकारी दिनुभयो । जसमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार ९ सय ६५ र उपत्यका बाहिर ४ सय १ जनाको नमुना परीक्षण भएको छ । आज थप ८० जनाको नमुना परीक्षण भइरहेको छ ।
प्रवक्ता देवकोटाका अनुसार देशभर पछिल्लो ४ दिनमा गरिएका नमुना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।कैलाली र कञ्चनपुरमा र्यापिड टेस्ट किटबाट १ सय ९८ जनाको परीक्षण भएको छ । दिपायलमा पनि शंकास्पद व्यक्तिको नमुना संकलन भइरहेको छ भने बेलुकीसम्म ३ सय जनाको नमुना संकलन गर्ने लक्ष्य राखिएको छ । उहाँले अछाम, जुम्ला, सुर्खेत लगायतका स्थानबाट हिजो ८ सय २ जनाको नमुना संकलन भई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याइएको बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न १० स्थानबाट परीक्षण भइरहेको छ । बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जनकपुर प्रादेशिक अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल धनगढी, हेटौडा, भैरहवा र चितवनबाट नमुना परीक्षण भइरहेको छ । नेपालमा हालसम्म संक्रमणको पुष्टि भएका आठ जना विदेशबाट फर्किएका र अर्का एक स्थानिय संक्रमण रहेको छ । विदेशबाट आएका कोरोना संक्रमण भेटिएकोमा दुईजना दुबई, दुई जना भारत, एक फ्रान्स, दुई बेल्जियम र एक चीनबाट आएकामा छन् ।
तपाईँको अभिमत