चीनमा एसिम्प्टोमेटिक संक्रमण, ७६ दिनदेखिको लकडाउन अन्त्य
काठमाडौं, २६ चैत । कोरोना भाइरस रोगको उद्गमस्थल चीनको युहानमा ७६ दिनपछि लकडाउन अन्त्य गरिएको छ । मंगलबार नयाँ संक्रमण शून्य भएपछि युहानमा बुधबार (आज)बाट लकडाउनलाई खुला गरि मानिसहरुलाई शहरमा आउन जान खुला गरिएको हो । स्वस्थ्यमा कुनै समस्या नभएकाहरुलाई मात्र बाहिर हिँडडुल गर्न अनुमति दिइएको छ । लकडाउनको अन्त्यपछि ७६ दिनदेखि कोठामा नै थुनिएका बासिन्दाहरुले उत्सव मनाउने तयारी गरेका छन् ।
लकडाउन अन्त्य भएकै दिन आज युहानबाट ५५ हजार मानिस रेलबाट अन्यत्र स्थानमा जाँदैछन् भने १० हजार मानिसले उडान मार्फत शहर छोड्दैछन् । प्रवासी कामदारहरुले लामो सास फेरेका छन्, उनीहरु निकै खुशी देखिन्छन् समाचार संस्था रोयटर्सले जनाएको छ । युहानबाट बाहिरिनुअघि मानिसहरुको स्वास्थ्य परीक्षण गरिनेछ । जनवरीमा करिव सवा करोड मानिसको बासस्थान रहेको युहानलाई सिल्ड गरि संक्रमण नियन्त्रणको प्रयास गरिएको थियो ।
युहानमा मात्रै ५० हजार मानिस संक्रमणको शिकार भए भने २५ सय भन्दा बढी संक्रमितको मृत्यु भयो । युहानमा पछिल्लो २१ दिनमा नयाँ ३ जनामा संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । चीनमा ८१ हजार ७ सय ८ जना संक्रमित भए भने ३ हजार ३ सय ३१ जनाको मृत्यु भयो ।
चिन्ता एसिम्प्टोमेटिक संक्रमणको, खतरा उस्तै
एसिम्प्टोमेटिक बिरामी र आयातित संक्रमण चीनको मुख्य चिन्ताको विषय भएको छ । पछिल्लो २४ घण्टामा चीनको हुबेईमा नयाँ कोरोना भाइरस संक्रमणका बिरामी दोब्बरले बढी भएको छ । संक्रमित विदेशी पर्यटकहरुको संख्या बढ्नाले नयाँ कोरोना भाइरस अर्थात् एसिम्प्टोमेटिक संक्रमण चौगुणाले बढेको पाइएको छ ।
स्वास्थ्य सेवा आयोगका अनुसार मंगलबार ६२ जनामा संक्रमण देखियो यो अघिलो दिनको तुलनामा दोब्बरले बढी हो र मार्च २५ यता यो संक्रमणको संख्या उच्च हो । नयाँ एसिम्प्टोमेटिक १ सय ३७ जना बिरामी पाइयो ।
के हो एसिम्प्टोमेटिक संक्रमण
एसिम्प्टोमेटिक संक्रमणमा मानिसमा कोरोना भाइरस रोगको कुनै पनि लक्षण देखिँदैन तर परीक्षण गर्दा भाइरस रहेको देखिन्छ । चीनमा लक्षण नै नदेखिएका व्यक्तिमा पनि कोरोना भाइरस रोगको संक्रमण भएको छ जसले अर्काे खतरा निम्त्याएको स्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् । एसिम्प्टोमेटिक संक्रमण पनि विश्वमा पहिलो पटक कोभिड नाइन्टिनको संक्रमण देखिएको हुबईमा नै देखिएको छ । त्यहाँ हालसम्म ७ सय ५ जनामा एसिम्प्टोमेटिक संक्रमण देखिएको छ र उनीहरुलाई चिकत्सकको निगरानीमा राखिएको छ ।
एसिम्प्टोमेटिक संक्रमणमा ज्वरो र खोकी लाग्दैन । लक्षण बिना नै कोरोना भाइरसको संक्रमण देखिएपछि झन खतरा बढेको छ । लक्षण नदेखिएका व्यक्तिको परीक्षण भएको थिएन र त्यस्ता बिरामीको रेकर्ड पनि राखिएको थिएन तर लक्षण नै नदेखिएका मानिसमा पनि कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि गत सातादेखि मात्रै एसिप्टोमेटिक संक्रमणको रेकर्ड राख्न सुरु गरिएको थियो र हालसम्म ११ सय भन्दा बढी मानिसमा एसिप्टोमेटिक संक्रमण भएको छ जसलाई कुनै लक्षण नै देखिएको थिएन । एसिप्टोमेटिक संक्रमणका बारेमा थप अनुसन्धान हुनपर्ने विज्ञहरुले बताएका छन् । कोभिड नाइन्टिन लाग्दा ज्वरो र सुख्खा खोकी, घाँटी दुख्ने जस्ता लक्षणहरु देखिन्छन् । विभिन्न एजेन्सीको सहयोगमा ।
हेल्थपाटी
तपाईँको अभिमत