बेलायतका प्रधानमन्त्री गम्भीर अवस्थामा, आइसीयूमा सारियो
काठमाडौं, २५ चैत । कोरोना भाइरस रोगको संक्रमणमा पर्नुुभएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार नआएपछि आइसीयूमा सारिएको छ । मार्च २६ मा संक्रमण देखिएपछि ५५ वर्षका प्रधानमन्त्री जोनसन घरमा नै आइसोलेसनमा राखिएकोमा लक्षणमा कुनै सुधार नआएपछि उहाँलाई सोमबार लण्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पताल भर्ना भएपछि प्रधानमन्त्री जोनसनले आफू नियमित जाँचका लागि अस्पताल आएको र अवस्था सामान्य रहेको बताउनुभएको थियो । तर सोमबार साँझ प्रधानमन्त्रीको स्वास्थ्यमा झन झन खराबी आएपछि चिकित्सकहरुको सल्लाहमा आइसीयूमा सारिएको प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएपछि सरकारको जिम्मेवारी विदेशमन्त्री डोमीनिक राबले सम्हाल्नुहुने भएको छ । बेलायतमा कोरोना संक्रमणका कारण ५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत