मास्कले मात्र कोरोनाको महामारी रोक्दैन : विश्व स्वास्थ्य संगठन
महानिर्देशक टेड्रोसले भन्नुभयो मास्कको प्रयोगले मात्रै संक्रमण रोक्छ भन्ने छैन शंकास्पद बिरामीलाई पहिचान गरि तुरुन्तै परीक्षण गर्ने र आइसोलेसनमा राखेर उपचार गर्ने तथा संक्रमितको सम्पर्कमा आएकालाई खोज्न नै संक्रमण नियन्त्रणको उपाय हो ।
काठमाडौं, २५ चैत । विश्व स्वास्थ्य संगठनले मास्कको प्रयोगले मात्र कोराना भाइरस रोगको महामारीलाई नरोक्ने बताएको छ । जेनेभामा आयोजित नियमित प्रेस ब्रिफिङमा संगठनका महानिर्देशक डा.अधानोम टेड्रोसले मास्क भए पनि नभएपनि सामाजिक दुरी कायम नराखे संक्रमण नियन्त्रण नहुने बताउनुभयो । उहाँले सामाजिक दुरी कायम राख्दा, हात धुँदा, हातले मुख नछुँदा र हाछ्युँ गर्दा कुहिनोले मुख छोप्दा संक्रमणको जोखिम टर्ने प्रमाणित भइसकेको बताउनुभयो ।
मेडिकल मास्कको प्रयोग बढ्न गई विश्वभर अभाव सृजना भएपछि संगठनले मास्क कसले, कस्तो अवस्थामा प्रयोग गर्ने भन्ने सम्बन्धमा मापदण्ड तथा निर्देशिका बनाएको छ । मेडिकल र गैरमेडिकल मास्कको प्रयोगका सम्बन्धमा संगठनले मूल्याङ्कन गरिरहेको भन्दै मास्क प्रयोग सम्बन्धी निर्देशन र मापदण्ड बनाएको हो । निर्देशिका अनुसार पानीको अभाव भएका स्थान, अशक्त व्यक्ति तथा सामाजिक दुरी कायम राख्न नसक्ने व्यक्तिलाई मास्कको प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । त्यस्ता व्यक्तिलाई सही तरिकाले मास्क प्रयोग गर्न पनि उहाँले सुझाउनुभयो ।
मास्क प्रयोग सम्बन्धमा प्रष्ट जवाफ दिँदै महानिर्देशक टेड्रोसले भन्नुभयो मास्कको प्रयोगले मात्रै संक्रमण रोक्छ भन्ने छैन देशले शंकास्पद बिरामीलाई पहिचान गरि तुरुन्तै परीक्षण गर्ने र आइसोलेसनमा राखेर उपचार गर्ने तथा संक्रमितको सम्पर्कमा आएकालाई खोज्न नै संक्रमण नियन्त्रणको उपाय हो ।
मेडिकल मास्क अग्र स्थानमा रही उपचार गर्ने स्वास्थ्यकर्मीहरुलाई आवश्यक रहेकाले सर्वसाधरणलाई अनावश्यक मेडिकल मास्कको प्रयोग नगर्न आग्रह गर्नुभयो । टेड्रोसले सर्वसाधरणले अनावश्यक रुपमा मास्कको उपयोग गर्दा स्वास्थ्यकर्मीहरुका लागि मास्क अभाव भएको र यो अभावले स्वास्थ्यकर्मीलाई साँच्चिकै खतरामा पार्ने चेतावनी दिनुभयो ।
सम्बोधनको अन्त्यमा महानिर्देशक टेड्रोसले खुशी हुँदै भन्नुभयो, कंगोमा इबोलाको प्रकोप अन्त्यको नजिक रहेको भन्दै अब त्यहाँ इबोलाका नयाँ केस देखिएन भने आउँदो आइतबार कंगो सरकारले इबोला अन्त्यको घोषणा गर्नेछ । ज्यान जोखिममा राखी १८ महिनासम्म स्वास्थ्यकर्मीहरु अहोरात्र नखेटेको भए इबोला प्रकोप नियन्त्रणको सम्भावना थिएन ।
हेल्थपाटी
तपाईँको अभिमत