कुकुर,बिरालोपछि बाघमा समेत देखियो कोरोना भाइरस
काठमाडौं,२४ चैत । विश्वभरी माहामारी रुपमा फैलिएको कोरोना भाइरस बाघमा पनि देखिएको छ । अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाघरमा चार वर्षको नाडिया मलायन प्रजातिको बघिनीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । अन्र्तराष्टिय समाचार संस्थाहरुका अनुसार अमेरिकामा जनावरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको यो पहिलो घटना हो । यसअघि हङकङमा दुइ कुकुर र एउटा बिरालोमा पनि कोरोना भाइरस देखिएको थियो ।
अमेरिकाको चिडियाघर रहेको अर्को मलायन बाघसँगै दुई अमुर प्रजातिको बाघ तथा तीन अफ्रिकी सिंहमा पनि सुख्खा खोकी देखिएको छ । चिडियाघरले भाइरस कसरी जनावरमा सर्यो भन्ने अझै पत्ता लगाउन सकेको छैन । चिडियाघरका अन्य जनावरमा भने बिरामीको लक्षण देखिएको छैन । लक्षण नदेखिएका संक्रमितको माध्यमबाट यो भाइरस जनावरमा सरेको हुन सक्ने चिडियाघरले बताएको छ । यसअघि बेल्जियममा बिरालो तथा हङकङमा कुकुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको दाबी गरिएको थियो । कोरोना भाइरस रोग पहिलो पटक जनावरबाट मानिसमा सरेर फैलिएको भनिएता पनि कुन जनावरबाट मानिसमा सरेको हो अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । एजेन्सी ।
तपाईँको अभिमत