महारानी एलिजाबेथको दुर्लभ सम्बोधन, ‘सङ्घर्षमा हामी सफल हुन्छौँ’
काठमाडौं,२४ चैत । ब्रिटेनकी महारानीले राष्ट्रका नाममा गरेको सम्बोधनमा कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा यूके 'सफल हुने' बताउनुभएको छ । दुर्लभ रूपमा दिइने त्यस्तो सन्देशमा महारानी एलिजाबेथले सरकारको नियम मानेर घरमै बस्ने मानिसहरूलाई धन्यवाद दिइन् र 'अरूका लागि सहयोग गर्न जुटेकाहरूको' प्रशंसा गर्नुभयो ।
उहाँले 'प्रत्येक घण्टा' काम गरेर "सामान्य अवस्थामा फर्किने समयको नजिक पुर्याउने" अत्यावश्यकीय काममा खटेका व्यक्तिहरूलाई पनि धन्यवाद दिनुभयो। यूकेमा कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४,९३४ पुगेका बेला उहाँको यस्तो सन्देश आएको हो।
'फेरि भेट्नेछौँ'
विन्जर क्यासलबाट सम्बोधन गर्दै महारानी एलिजाबेथ द्वितीयाले भन्नुभयो : "हामीले विगतमा चुनौतीहरू भोगेको भए तापनि यो एकदमै फरक छ।" "यस पटक विज्ञानको बृहत् विकास र हाम्रो करुणाभावसहित साझा प्रयत्नका लागि विश्वभरिका देशहरूसँग हामी मिलेका छौँ। हामी सफल हुनेछौँ र त्यो सफलता हामी सबैको हुनेछ।" "हामीले अझ धेरै सहनुपरे पनि के कुरा सम्झेर सहज मान्नुपर्छ भने राम्रा दिनहरू फर्किनेछन्: हामी फेरि आफ्ना साथीहरूमाझ हुनेछौँ, हामी फेरि हाम्रा परिवारसँग हुनेछौँ, हामी फेरि भेट्नेछौँ।"
त्रियानब्बे वर्षीया महारानीले 'आफ्ना प्रियजनबाट अलग्गिने पीडादायी अवस्थाबारे अहिले जारी राख्न भनिएको व्यक्तिगत दूरीले दोस्रो विश्वयुद्धताका अन्यत्र सारिएका बालबालिकाहरू सम्झाएको बताउनुभयो । महारानीले सन्देश दिएको एक घण्टापछि डाउनिङ स्ट्रीटले प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल लगिएको घोषणा गरेको थियो ।
दश दिनअघि कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि उहाँ एकान्तवासमा हुनुहुन्थ्यो। आफ्नो सम्बोधनमा महारानीले नियम मानेर घरमै बसिरहेका सबैले "जोखिममा रहेकालाई जोगाउन सहयोग गरेको र आफन्त गुमाएर पीडामा रहेका परिवारसँग सहानुभूति" भएको बताउनुभयो।
"मिलेर हामी यो रोगसँग सङ्घर्ष गरिरहेका छौँ र म फेरि के आश्वस्त पार्न चाहन्छु भने हामी एकबद्ध र दृढ भयौँ भने हामीले यसलाई पार लगाउनेछौँ," उहाँले भन्नुभयो। उहाँले आत्मानुशासन र सङ्कल्पमा जोड दिँदै आफूले भविष्यमा "यो चुनौती कसरी सामना गरेका थियौँ भन्नेमा सबैले गर्व अनुभूति गर्ने" पनि बताइन्। बीबीसीबाट ।
हेल्थपाटी
तपाईँको अभिमत