आइसोलेसनमा बालबालिकाको उपचार कसरी गरिन्छ
संक्रमित आमाले स्तनपान गराउदा
काठमाडौं,२३ चैत । नेपालमा हाल सम्म ९ जनामा कोरोनाको पुष्टि भइसकेको छ । कोरोना पुष्टि भएका ८ युवा र एक बृद्दा छन् । नेपालमा लोकल ट्रान्सिमशन भइसकेकाले संक्रमणको दोस्रो चरणमा प्रवेश भएको छ यसले उच्च जोखिम बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउसो सम्म देशभर १२ सय ७७ जनाको नमुना परीक्षण भएको छ । जसमा १२ जना बालबालिकाको नमुना पनि परीक्षण गरिएको थियो यद्यपी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
विदेशबाट आएका १२ जना बालबालिकाहरुमा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि कान्ति बाल अस्पतालमा आइसोलेसनमा उपचार गरिएको थियो । भर्ना गरिएकामा १४ महिना देखि १२ वर्षसम्मका थिए । रिपोर्ट नेगेटिभ आएपछि १२ जना बालबालिका नै अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । हाल कान्ति बाल अस्पतालमा कोरोनाको शंकामा एक जना पनि भर्ना भएका छैनन् । कान्तिमा १० वटा आइसोलेसनको व्यवस्था गरिएको छ ।
कान्ति बाल अस्पतालमा हालसम्म आइसोलेसनमा राखी परीक्षणमा गरिएकोमा ५ जना बालिका र ७ जना बालक रहेका थिए । भर्ना भएकामा १४ महिना देखि १२ वर्षसम्मका बालबालिकाहरु थिए । रिपोर्ट नेगेटिभ आएपछि सबैजना डिस्चार्ज भइसकेका छन् । कान्ति बाल अस्पतालमा १० वटा आइसोलेसन बेडको व्यवस्था गरिएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण आइसोलेसनमा रहेका बिरामीसंग टाढा बस्नुपर्दछ । तर बालबालिकाको हकमा व्यवहारिक रुपमा यसो गर्न नसकिने अस्पतालका निर्देशक डा.कृष्ण पौडेल बताउनुहुन्छ ।

२४ देखि ४८ घण्टा सम्म एक्लै आइसोलेसनमा राख्दा उनीहरु आत्तिन्छन् यसले स्वास्थ्यमा थप नयाँ समस्या निम्तने जोखिन हुन्छ त्यसैले बच्चाको साथमा आमा वा बुवालाई संगै बस्न अनुमति दिएका छौ । हामीले १४ वर्षसम्मका बालबालिकाहरु भर्ना लिन्छौ भर्ना गरिएका सबै बालबालिकाको साथमा निश्चित दुरीमा अनिवार्य आमा वा बुवा साथी राख्ने गर्छाै र १२ जना बालबालिका राख्दा पनि हामीले त्यसै गर्यौ ।
हाल सम्मको अध्ययन अनुसार बच्चाबाट अन्य व्यक्तिमा सर्ने जोखिम कम देखिएको छ र यदि बच्चामा संक्रमण भइहालेमा पनि मृत्युदर अत्यन्तै न्यून छ । हाछ्यू गर्दा ,खोक्दा बच्चाहरुले टाढा सम्म थुकका छिटा फैलाउन सक्दैनन् त्यसैले पनि जोखिम कम रहेको अध्ययनहरुले देखाएको भन्दै निर्देशक पौडेलले संगै बस्नेलाई मास्क, पञ्जा प्रयोग गरि सावधानी अपनाउन लगाइने बताउनुभयो ।
आमा संक्रमित भएमा स्तनपान गराउदा बच्चालाई संक्रमण नसर्ने अध्ययनहरुले देखाएको भएपनि यदी बच्चामा संक्रमण भए दुध खुवाउदा आमालाई सर्ने जोखिम बारे कहीकतै अध्ययनहरु भएको पाइएको छैन । कोरोना भाइरसको संक्रमण थुक, र्याल मार्फत सर्ने पुष्टि भइसकेको अवस्थामा बच्चाले आमाको दुध खादा बच्चाको थुक वा र्यालबाट आमालाई सर्छ या सर्दैन भन्ने विषय अनविज्ञ छ । यद्यपी स्तनमा घाँउ भएमा भने स्तनपान गराउन नहुने सुझाव अध्ययनहरुले दिएका छन् ।
आइसोलेसनमा बालबालिकाको उपचार र हेरचाह कसरी गरिन्छ :
१.बच्चाको साथमा आमा बुवा मध्ये एक जना अविभावकलाई साथमा राखिन्छ । बच्चा संगै बस्नेले मास्क,पञ्जा प्रयोग गर्नुपर्दछ ।
२.सामाजिक दुरी कायम राख्न चिकित्सक तथा नर्सहरु आवश्यक परेको बेलामा मात्र आइसोलेसन कक्षमा जाने गर्दछन् ।
३.आइसोलेसन कक्षमा रहेका बच्चाको अवस्थाका बारेमा अभिभावकले फोन मार्फत चिकित्सक तथा नर्सलाई जानकारी गराउछन् र त्यसपछि उनीहरु अवस्था बुझ्न जाने गर्दछन् ।
४. बाहिरबाट औषधि तथा खानेकुरा अस्पतालकै कर्मचारीले उपलब्ध गराउँदछन् ।
५.आइसोलेसन कक्षको ढोका खोलेपिच्छे सफा गरिन्छ ।
६.कोरोना नमुना परीक्षणको रिपोर्ट नआउञ्जेल आइसोलेसन कक्षबाट बच्चा र बच्चाको साथमा रहेका अविभावक बाहिर निस्कन मिल्दैन ।
लकडाउनमा रहदा बालबालिकालाई कसरी हेरचाह गर्ने :
निर्देशक डा. पौडेलका अनुसार अहिले लकडाउनको समयमा घरमा बस्दा बालबालिकालाई कोरोनाबारे बुझ्ने गरि आवश्यक परेमा जानकारी गराउने ,मृत्युको खवर नसुनाउने ,खेलकुदमा व्यस्त राख्ने ,अनलाईन मार्फत पढाउने तथा सरसफाईमा विशेष ध्यान दिनपर्छ ।
तुलसा घिमिरे
तपाईँको अभिमत