बिरामीको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
काठमाडौं, २१ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।
शुक्रबार न्याम्सका पदाधिकारीलाइ मन्त्रालयमा बोलाएर मन्त्री ढकालले कोरोनाको उपचारको तयारीबारे जानकारी लिने क्रममा अन्य बिरामीको उपचारमा पनि कमी हुन नदिन निर्देशन दिनुभएको हो ।
मन्त्री ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनका निम्ति सरकारले कुनै कसर बाँकी नराखेको भन्दै प्रोत्साहन भत्ता र बीमाको व्यवस्था भैसकेको बताउनुभयो । उहाँले व्यक्तिगत सुरक्षा सामग्री पीपीई अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभयो । मन्त्री ढकालले अहिले नेपालको हकमा कम्युनिटि ट्रान्समिशन नदेखिएको स्थितिमा कोरोना बाहेकका अन्य रोगका बिरामीले दुःख नपाउन भन्ने विषयमा राज्य संवेदनशिल रहेको बताउनुभयो ।
न्याम्सका पदाधिकारीले सरकारको निर्देशन पालना गर्ने जानकारी गराउँदै बिरामीलाइ कुनै पनि किसिमको असुबिधा हुन नदिने बताउनुभएको थियो ।
न्याम्सका उपकुलपति डा.देवनारायण शाहले मन्त्रालयको निर्देशन अनुसार कोरोना सहितका बिरामीको उपचारका निम्ति पूर्ण रूपमा तयार रहेको बताउनुभयो । वीर अस्पतालका कार्यकारी निर्देशक डा.केदारप्रसाद सेञ्चुरीले वीर अस्पतालले गरिरहेको तयारीका बारेमा जानकारी दिदै आगामि सोमबारबाट कोरोनाको नुमना परीक्षण हुने जानकारी गराउनुभयो ।
यस्तै राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले कोरोना उपचारमा विशेष सजकता अपनाउनु पर्ने भन्दै ट्रमा सेन्टरले अहिले पनि घाँउचोटका बिरामीको उपचार गरिरहेको जानकारी गराउनुभयो ।
हेल्थपाटी 
तपाईँको अभिमत