कोरोनाले ल्याएको मानसिक महामारी
फेरि, कसैलाई भनौं त्यही व्यक्तिबाट नै कोरोना सर्ला कि भन्ने अर्को डर । उफ ! यो कोरोनाको महामारी भन्दा मानसिक पीडा पो धेरै छ अहिले मलाई ।
न्यूयोर्क, चैत । जीवन अहिले कोरोनामय भएको छ । विहान देखि राति सुत्ने समयमसम्म कोरोनाकै आतंक छ । किन हो, सपनामा पनि कोरोनालेनै सताउन थालेको छ । यस्तो लाग्छ कि, अहिलेसम्मको सघर्ष, त्याग, योगदान सबै कोरोनाको लागि नै गरिएको हो । बुढी आमासँग नजिक भएर बोल्न सकेको छैन । आफन्त, भाइसँग अँगालो मारेर दुःख साटासाट गर्न सक्दिन म । बाल्य अवस्थादेखिका साथीभाइसँग भेट्न सकिरहेको छैन । जो कोहीलाई हेर्ने अहिले एउटै मेरो स्पष्ट दृष्टिकोण छ, त्यो हो कोरोना भाइरस रोग ।
कोही भेट्न आयो भने आतिथ्य सत्कारको आँखाले भन्दा पनि कोरोनाको दृष्टिकोणले हेर्छु म । स्वदेशबाट आयो कि विदेशबाट पहिला त्यो खोज्छु । रगत नाताको सम्बन्ध खोज्दिन म । केही समय अगाडि युरोप, अमेरिका, अष्टेलियाबाट आएका आफन्त साथीभाइ मेरो पहिलो प्राथमिकतामा पर्थे । टाढाको सम्बन्ध भए पनि नाता जोडेर नजिक हुन खोज्थेँ म । अचेल नजिकको सम्बन्ध भए पनि उनीहरुसँग टाढा भाग्छु म ।
शहरमा कोरोना आतंक फैलिएको खबरले नै मेरो मन बिक्षिप्त बनाएको छ । घरबाट बाहिर निस्कन सक्दिन म । कोठाबाट बरण्डा त्यहाँबाट बाथरुप, भान्छा, छत यही वरिवरी मेरो दैनिक दिनचर्या चलिरहेको छ । केही समयदेखि घरको तल र माथिमानै जीवन जगत घुमिरहेको छु । त्यसको एउटा पात्र म पनि हुँ । मलाई त्यो राम्ररी थाहा छ । घरमा पनि अहिले पराइजस्तै हुनुपर्ने अवस्था छ । खुलेर ‘ब्लेस यू’ पाउने हाछ्युँ.. गर्न सक्दिन म । घाँटी खसखस गर्छ, डर नै लाग्छ । अझ खोक्ने त कुरै भएन । ज्वरो आयो भने पनि कोरोनानै भयो भन्ने चिन्ता । अस्पताल आउँ झनै रोग सर्ला भन्ने अर्को डर । फेरि, कसैलाई भनौं त्यही व्यक्तिबाट नै कोरोना सर्ला कि भन्ने अर्को डर । उफ ! यो कोरोनाको महामारी भन्दा मानसिक पीडा पो धेरै छ अहिले मलाई ।
दिनमा कतिपटक हात धुनु त्यो पनि एकिन गर्न सकिरहेको छैन म । मास्कले मुख थुन्दा थुन्दा सासनै फेर्न असहज महसुस हुन थालिसकेको छ । खुला हावामा कहिले हिँड्ने म । जागिरमा जाउँ काम छैन । पैसा आउने ठाउँ छैन । पैसा नै भए पनि मन परेको स्थानमा गएर खाना खान सक्ने अवस्था छैन । हैन, कस्तो रोग हो यो ? कतै छुन पनि नहुने । कतै जान पनि नहुने । परिवारसँग पनि दुरी राख्नुपर्ने । कोहीसँग भेट गर्न पनि नहुने । कोरोनाको पीडाभन्दा पनि यो पीडाले पो सताउन थालेको छ अचेल मलाई ।
समाचार सुनेको भरमा दिनमा तीन चारपटक तातो पानी खान्छु । अदुवा, लसुन, प्याज, बेसार पानी खान छोडेको छैन । भिडभाडमा पनि गएको छैन । दुई हप्तादेखि घरको कोठमा नै बन्द छु । घर बस्दा पनि मास्क लगाइ रहन्छु । दिनमा दुई दर्जन पटक साबुन पानीले हात धुन्छु । साथीभाइको लागि घरमा नो इन्ट्री नै छ । । आमा, भाइ, श्रीमतीसँग पनि दुरी कायम राखेर खानपिन, उठबस हुन्छ । टिभी, इन्टरनेट समाचार खोल्यो त्यही कोरोनाको कुरा मात्र छ । फोन गर्यो घण्टी पनि कोरोनाकै आउँछ । शारीरिक रुपमा त म पूर्ण स्वस्थ छु तर, मानसिक रुपले विक्षिप्त महसुस गरिरहेको हुन्छु । कुनै रोग नभएर पनि आफूलाई रोगी छु कि जस्तो लाग्छ । अनि फेरि एकछिन पछि त्यही अँध्यारो एकान्त कोठामा जान्छु र सोच्छु कोरोनाको महामारी भन्दा यसले निम्त्याउने मानसिक महामारी पो ठूलो होला जस्तो छ ।
तपाईँको अभिमत