युवा चिकित्सकले उत्पादन गरेको पीपीई विभिन्न अस्पतालमा सहयोग
आवश्यक परे उत्पादनलाई बढाउन सकिने
काठमाडौं, १७ चैत । वातावरण तथा जनसरोकार केन्द्रले विभिन्न अस्पतालका लागि २ सय थान पीपीई सहयोग गरेको छ । कोरोना भाइरस रोगको उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को अभाव भइरहेका बेला चिकित्सक तथा जनस्वास्थ्य विद्यार्थी सम्मिलित केन्द्रले उपत्यका बाहिर र भित्रका अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई पीपीई सहयोग गरेको हो ।
२०५० सालमा स्थापित यस केन्द्रले तयारी अवस्थामा रहेको अरु सय थान पीपीई पनि वितरण गर्ने केन्द्रका संयोजक डा.रोजन अधिकारीले जानकारी दिनुभयो । सहसंयोजक हरि बरालले छोटो समयमा उत्पादन गरिएका पीपीई गुणस्तरयुक्त र निर्मलीकरण गरि पुनःप्रयोग गर्न मिल्ने र पानी नछिर्ने खालको रहेको बताउनुभयो । पहिलो चरणमा तीन सय थान वितरण गरिने र आवश्यकता अनुसार थप पीपीई उत्पादन गर्ने कार्ययोजना रहेको पनि सहसंयोजक बरालले बताउनुभयो ।
उहाँले भन्नुभयो विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार मिल्दोजुल्दो गुणस्तरयुक्त पीपीई उत्पादन गरिएको छ। यसले अभावको समयमा ठूलो राहत मिल्नेछ । पीपीई उत्पादनमा बाबा इम्पोर्टका पशुपति लाथ र मनकामना गार्मेन्ट्सको गोफि ब्राण्डका निर्देशक सुमित प्रधानले सहयोग गर्नुभएको छ । गार्मेन्ट्सका निर्देशक प्रधान र इम्पोर्टका लाथले महामारीको समयमा पीपीई उत्पादन गरि राज्यलाई सहयोग गर्न पाउँदा आफूहरु निकै उत्साहित र खुशी भएको बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत