लकडाउन अवधिभर गरिब र मजदुरलाई खानाको व्यवस्था
जनकपुर, १६ चैत । प्रदेश नम्बर २ को सरकारले गरिब र मजदुरलाई निशुल्क खानाको व्यवस्था गर्ने भएको छ । प्रदेशको आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधिभर गरिब तथा मजदुरलाई निशुल्क खाना खुवाउने व्यवस्था गरेको हो । दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र गरिबलाई निशुल्क खानाको व्यवस्था गर्न लागेका हौं, २ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर शाहले भन्नुभयो, लकडाउनले गरिबलाई खाना पनि धौ धौ भएकोले खाना खुवाउने निर्णय गरेका हौं ।
शाहले आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिनुभयो । यसको व्यवस्थापन स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि प्रदेशको एकमात्र महानगर वीरगञ्जलाई २५ लाख, उपमहानगरलाई २० लाख तथा हरेक नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाखको दरले रकम पठाउने सरकारले निर्णय गरेको छ ।
यसअघि सरकारले कोरोना रोकथामका लागि हालसम्म गरेको प्रयास तथा अब कसरी अघि बढ्न सकिन्छ भन्ने नीति बनाउन सर्वदलिय बैठक बोलाएको थियो । उक्त बैठकमा मुख्यमन्त्री लालबाबु राउत सहितका मन्त्रीहरु, काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपाका सांसद शत्रुधन महतो, सांसद किशोरी साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
तपाईँको अभिमत