आफैले पीपीई उत्पादन गरि निशुल्क वितरण गर्दै युवा चिकित्सक
स्थानिय स्रोत र साधनको प्रयोग गरि बनाइएको पीपीई सेटमा गाउन,जुत्ता कभर, अनुहार ढाक्ने हेल्मेट रहेको र यसले शरीरलाई पूर्ण रुपमा सुरक्षा दिनेछ ।
काठमाडौं, १५ चैत । कोरोना भाइरस रोगको उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)को अभाव भइरहेका बेला चिकित्सक तथा जनस्वास्थ्य विद्यार्थी सम्मिलित वातावरण तथा जनसरोकार केन्द्र पीपीई उत्पादनमा लागेको छ । २०५० सालमा स्थापित यस केन्द्रले उत्पादन गरेको पीपीई भोलिबाट निःशुल्क वितरण गरिने केन्द्रका संयोजक डा.रोजन अधिकारीले जानकारी दिनुभयो । उहाँले तयारी अवस्थामा रहेको ३ सय पीपीई वितरण गर्ने र माग अनुसार आफूहरुले एक हजार थानसम्म पीपीई सहयोग गर्न सक्ने बताउनुभयो ।
सहसंयोजक हरि बरालले छोटो समयमा उत्पादन गरिएका पीपीई गुणस्तरयुक्त र निर्मलीकरण गरि पुनःप्रयोग गर्न मिल्ने र पानी नछिर्ने खालको रहेको बताउनुभयो । उहाँले चिकित्सकहरुको सुझाव अनुसार तयार गरिएको पीपीई उत्पादनमा उद्योगीहरुले कच्चा पदार्थ सहयोग गरेको जानकारी दिनुभयो । सहसंयोजक बरालले भन्नुभयो विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार मिल्दोजुल्दो गुणस्तरयुक्त पीपीई उत्पादन गरिएको छ यसले अभावको समयमा ठूलो राहत मिल्नेछ । पीपीई उत्पादनमा बाबा इम्पोर्टका पशुपति लाथ र मनकामना गार्मेन्ट्सको गोफि ब्राण्डका निर्देशक सुमित प्रधानले सहयोग गर्नुभएको छ ।
गार्मेन्ट्सका निर्देशक प्रधान र इम्पोर्टका लाथले महामारीको समयमा पीपीई उत्पादन गरि राज्यलाई सहयोग गर्न पाउँदा आफूहरु निकै उत्साहित र खुशी भएको बताउनुभयो । स्थानिय स्रोत र साधनको प्रयोग गरि बनाइएको पीपीई सेटमा गाउन, जुत्ता कभर, अनुहार ढाक्ने हेल्मेट रहेको र यसले शरीरलाई पूर्ण रुपमा सुरक्षा दिनेछ ।
हेल्थपाटी
तपाईँको अभिमत