स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिउँः नेकपा अध्यक्ष प्रचण्ड
कोरोना विरुद्ध अग्रमोर्चामा लड्ने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिनुपर्ने

काठमाडौं, १५ चैत । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरुस विरुद्धको लडाइँमा अग्र मोर्चामा रहेर जोखिम उठाउने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभएको छ । कोरोना विरुद्धको लडाइँमा अग्रमोर्चामा स्वास्थ्यकर्मी रहने हुनाले उनीहरुले काम गर्दा आवश्यक पर्ने उपकरणको व्यवस्था गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।
अध्यक्ष प्रचण्डले आज सार्वजनिक अपिल गर्दै स्वास्थ्यकर्मीले कोरोना भाइरस विरुद्ध ठूलो भूमीका खेलेकोमा प्रशंसा गर्नुभयो । उहाँले स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न आवश्यक उत्प्रेरणा जगाउनुपर्ने भन्दै स्वास्थ्यकर्मीलाई आवश्यक उपकरणको व्यवस्था सातवटै प्रदेशमा गर्नुपर्ने बताउनुभयो ।
उहाँले चीन, कोरिया, इटाली, स्पेन, अमेरिकाजस्ता मुलुकबाट पाठ सिकेर उच्च सतर्कता भने अपनाउन जरुरी रहेको भन्दै कोरोना विरुद्धको लडाइमा सबैभन्दा अग्रमोर्चामा रहेर काम काम गर्ने चिकित्सक नर्स तथा पारामेडिक्सहरुको उच्च मूल्याङ्कन हुनुपर्ने बताउनुभयो । चिकित्सकका अनुसार चर्को ज्वरो, खोकी, थकान र स्वाशप्रस्वासमा अफ्टेरो भए कोभिड १९ को परीक्षण गर्नुपर्ने भन्दै प्रचण्डले नेपालमा आजसम्म चार जना नेपालीमा कोरोना देखिएको तर उहाँहरुको स्वास्थ्य स्थिति सामान्य रहेकोले आत्तिनुपर्ने स्थिति नरहेको बताउनुभयो । उहाँलेदैनिक ज्याला गरेर जिविकोपार्जन गर्नुपर्ने निम्न वर्गिय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थामा आवस्यक राहत र विशेष सहयोगको प्याकेजको व्यवस्था गर्न सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।
संकटको यो अवस्थामा गरिब र असहायहरुको साथमा मुठी फुकाउन नीजि क्षेत्रका व्यवसायीसँग पनि अपिल गर्नुभयो । व्यक्तिगत रुपमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, खोक्दा हाच्छिउँ गर्दा रुमालको प्रयोग गर्ने, आवश्यकता अनुसार मास्क प्रयोग गर्ने र सरकारले घोषणा गरेको लकडाउनलाई पालना गर्दै घरबाट ननिस्कन र अनुशासनमा बस्न आम जनसमुदायसँग अनुरोध गर्नुभयो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा आम सञ्चार माध्यमहरुको क्रियाशिलताको उच्च सम्मान गर्दै साथै सञ्चार माध्यामले यथोचित सूचना, आधिकारिक सूचना जनतासम्म पुर्याउने काममा विशेष ध्यान दिनुपर्छ भन्नुभयो । विश्वलाई नै चुनौति दिएको यस महामारीबाट छिटै नै मुक्त हुनेछौ भन्दै उहाँले यसको लागि स्वास्थ्यकर्मीको ठूलो भूमिका हुने बताउनुभयो ।
मानव जातिलाई कोरोना भाइरस नयाँ चुनौती र नयाँ शिक्षा दिएको बताउनुभयो । आजसम्म कोभिड १९ कोरोना भाइरसका कारण ६ लाख मानिस संक्रमित भएका छन् भने २७ हजारभन्दा बढी नागरिकको मृत्यु भइसकेको छ प्रचण्डले थप्नुभयो, विश्व महामारीको रुपमा फैलिएको यस भाइरसका कारण निधन भएका सम्पूर्ण महानुभावप्रति हार्दिक श्रद्धाञ्जली तथा तीनका शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभयो । साथै विश्वभर र नेपालका समेत संक्रमितहरु छिटै निको हुने आशा सहित शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।
विश्वव्यापी बनिरहेको कोभिड १९ नामक भाइरसको सामना गर्न यतिबेला सिंगो विश्व नै संघर्षरत रहेको भन्दै उहाँले विश्व समुदायसंगै नेपाल सरकार र आम जनसमुदायले पनि आवस्यक सजगता र सावधानी अपनाएकोमा धन्यवाद सहित संक्रमण फैलन नदिन थप सावधानी अपनाउन हार्दिक अपिल गर्नुभएको छ । विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च अति उच्च जोखिममा रहेको देशको रुपमा सचेत गराइरहेको सन्दर्भमा म नेपाल सरकार प्रदेश र स्थानीय तहका सरकार तथा नेकपाका सबै तहका नेता, कार्यकर्ता तथा सबै तहका कार्यकर्तालाई स्वयमसेवीका रुपमा यस संक्रमण विरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व गर्न आग्रह गर्नुभयो ।
सचेत नागरिक र आमसञ्चार माध्यमको आधिकारिक सूचना र शिक्षाले नै जोखिममा पर्नबाट जोगिन सकिन्छ भन्ने तथ्यलाई नै गहिरोसँग आत्मसात गर्न समेत विशेष आग्रह गर्नुभयो । कोभिड १९ को संक्रमण विरुद्ध विजय प्राप्त गर्न नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पालना गर्दै हरेक नागरिक र परिवारले घरमै बसेर आफू र आफ्नो परिवारको अमुल्य जीवनको रक्षा गर्न र त्यस मार्फत देश र दुनियाँको रक्षा गर्न अपिल गर्नुभयो ।
तपाईँको अभिमत