दोस्रो संक्रमित बिरामीलाई डिस्चार्ज गरिएको छैन : अस्पताल
काठमाडौं, १४ चैत । फ्रान्सबाट आउनुभएकी नेपाली विद्यार्थी डिस्चार्ज नभएको अस्पतालले स्पष्ट पारेको छ । शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाको उपचारमा संलग्न प्रमुख चिकित्सक एवं प्रवक्ता डा.अनुप बाँस्तोलाले बिरामीको अवस्था सुधारोन्मुख रहेको र चिकित्सकको निगरानीमा रहेको बताउनुभयो । बिरामीको दोस्रो पटकको स्वाब परीक्षण गर्न बाँकी रहेको र दुई दिनपछि पुनः परीक्षण गर्ने तयारी भइरहेको अवस्थामा बिरामी डिस्चार्ज भएको खवर सत्य नभएको उहाँले स्पष्ट पार्नुभयो ।
प्रवक्ता बाँस्तोलाले सञ्चार माध्यमहरुलाई आधिकारिक समाचार मात्र प्रकाशन गर्न आग्रह गर्नुभयो । गत चैत ४ गते फ्रान्सबाट नेपाल आउनुभएकी १९ वर्षकी नेपाली विद्यार्थीलाई चैत ११ गते कोरोना भाइरस पुष्टि भएको थियो । यसैबीच संक्रमित युवतीको परिवारका सदस्यहरुमा कोरोना भाइरस नेगेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमुना जाँच गर्दा परिवारका ६ जना सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत