७ गते काठमाडौं आई पाँचौँ दिनमा पुग्नुभयो अस्पताल : चौथो कोरोना संक्रमित
पाँचौँ दिनमा पुग्नुभयो अस्पताल
काठमाडौं, १४ चैत । चौथो कोरोना संक्रमित युवा चैत ७ गते दुबईबाट दिल्ली हुँदै काठमाडौं आउनुभएको थियो । उहाँ आएको भोलिपल्ट ८ गते बुद्ध एयरमार्फत नेपालगञ्ज जानुभएको र त्यहाँबाट बसमा धनगढी जानुभएको थियो । ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डेले भोलिसम्म संक्रमितको पूर्ण जानकारी आउने बताउनुभयो । पाण्डेका अनुसार ज्वरो र खोकी लागेपछि चैत ११ गते उहाँ अस्पताल पुग्नुभएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रिपोर्ट बुझाएपछि साँझ नेपाल टेलिभिजन मार्फत आकस्मिक ब्रिफिङ गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धनगढीमा दुबईबाट आउनुभएका ३४ वर्षका नेपालीलाई कोरोना पोजेटिभ देखिएको जानकारी गराउनुभएको थियो ।
काठमाडौं बाहिर कोरोना पोजेटिभ देखिएको यो पहिलो घटना हो । काठमाडौं बाहिर समेत कोरोना पोजेटिभ देखिएपछि प्रवक्ता देवकोटाले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बसेर संक्रमण नियन्त्रणमा सहयोग गर्न आग्रह गर्नुभयो ।
नेपालमा पछिल्लो ५ दिनमा ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने हालसम्म संक्रमणको संख्या ४ पुगेको छ । नेपालमा हालसम्म संक्रमणको पुष्टि भएका सबै विदेशबाट फर्किएकाहरु छन् । संक्रमित ४ मध्ये १ जना निको भएर २ महिना अगाडि नै घर फर्किसकेका छन् भने ३ जना आइसोलेसनमा उपचाररत छन् ।
हेल्थपाटी
तपाईँको अभिमत