नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण
काठमाडौं,१४ चैत । नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरस रोगको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ गरेको दोस्रो आकस्मिक ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले चौथो संक्रमितको बारेमा जानकारी दिनुभएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रिपोर्ट बुझाएपछि नेपाल टेलिभिजन मार्फत आकस्मिक ब्रिफिङ गर्दै प्रवक्ता देवकोटाले धनगढीमा दुबईबाट आउनुभएका ३४ वर्षका नेपालीलाई कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।
काठमाडौं बाहिर कोरोना पोजेटिभ देखिएको यो पहिलो घटना हो । काठमाडौं बाहिर समेत कोरोना पोजेटिभ देखिएपछि प्रवक्ता देवकोटाले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बसेर संक्रमण नियन्त्रणमा सहयोग गर्न आग्रह गर्नुभयो ।संक्रमितको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको र बिरामीको अवस्था खतरामुक्त रहेको उहाँले बताउनुभयो । देवकोटाका अनुसार संक्रमण पुष्टि भएका व्यक्ति चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना हुनुभएको थियो ।
यसअघि सवा ४ बजे गरिएको ब्रिफिङ कार्यक्रममा ८ सय २ जना शंकास्पद बिरामीको कोरोना परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको जानकारी गराउनुभएको थियो । नेपालमा पछिल्लो ५ दिनमा ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने हालसम्म संक्रमणको संख्या ४ पुगेको छ । नेपालमा हालसम्म संक्रमणको पुष्टि भएका सबै विदेशबाट फर्किएकाहरु छन् । संक्रमित चार मध्ये एक जना निको भएर २ महिना अगाडि नै घर फर्किसकेका छन् भने तीन जना आइसोलेसनमा उपचाररत छन् ।
हेल्थपाटी
तपाईँको अभिमत