डिस्चार्ज गरिएका बिरामी घर जान पाएनन्, एम्बुलेन्सको मनोमानी
काठमाडौं, १४ चैत । कोरोना भाइरस रोगको संक्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेपछि बिरामीहरुलाई अस्पताल आउन र जान नै समस्या भएको छ । लकडाउनमा बिरामी ओसारपसारका लागि एम्बुलेन्स बाहेकका सवारी साधन नचलेपछि अस्पतालबाट डिस्चार्ज गरिएका बिरामीहरु घर जान पाएका छैनन् ।
९ दिनअघि रुपेश सिंह कामी साढे ५ महिने छोरालाई निमोनियाको लक्षण देखिएपछि कान्ति बालअस्पताल पुग्नुभएका रौतहटकाे अस्पतालबाट छोरो डिस्चार्ज भए पनि जाने साधन नहुँदा अस्पतालमा नै रोकिनुभएको छ । चिकित्सकहरुले आज डिस्चार्ज गरेका हुन् । मेरो गोजी रित्तिसक्यो, आफूसँगै ल्याएको १२ हजार रुपियाँ सकियो, घरबाट पैसा पठाउन केही खुलेको छैन । घर जाऊँ भन्दा साधन छैन, मलाई अब खानको लागि पनि पैसा छैन ।
आफूले ४ दिनदेखि विभिन्न अस्पतालमा गई एम्बुलेन्सलाई भन्दा २० हजार घटी कोही जान नमानेको बताउनुभयो । उहाँले एकजना एम्बुलेन्स चालकलाई १९ हजारमा कन्फर्म गरेर तयारी अवस्थामा रहँदा एम्बुलेन्स चालकले फोन गरि २० हजार भन्दा कममा हुँदैन भनेर नजाने भन्यो । सामान्य दिनमा अरु भाडाका गाडी रिजर्भ गर्दा पनि काठमाडौंदेखि रौतहटसम्म बढीमा ८ हजार पर्छ तर अहिले सबै भाडामा गाडीहरु बन्द भएपछि मौकाको फाइदा छोपी एम्बुलेन्सहरुले भाडाका गाडीले भन्दा तीन गुणा बढी भाडा असुलिरहेका छन् ।
यसैगरी छोरीलाई लिएर आकस्मिक उपचारका लागि थापाथलीस्थित प्रसुति अस्पताल पुग्नुभएका चित्लाङका उद्धब लामिछानेले पनि डिस्चार्ज भएको ३ घण्टासम्म कुनै एम्बुलेन्स पाउनुभएन । एम्बुलेन्सले चर्काे मुल्य भनेपछि उहाँ आफन्तलाई बोलाएर घर जानुभयो । सिंह र लामिछाने प्रतिनिधि पात्र मात्र हुन् । देशभरका अस्पतालमा डिस्चार्ज भएका सयौं बिरामी र आफन्तहरु घर एम्बुलेन्सलाई चर्काे मुल्य तिरि घर जान बाध्य भइरहेका छन् ।
तपाईँको अभिमत