कोरोना संक्रमित दुबैको अवस्था सामान्य: स्वास्थ्य मन्त्रालय
काठमाडौं, १४ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पुष्टि भएका २ जनाको अवस्था सामान्य रहेको जानकारी दिएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले दुबै जना शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेशनमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जानकारी दिनुभएको हो ।
उहाँले चैत १२ गतेपछि परीक्षण गरिएका कसैलाई पनि संक्रमण नदेखिएको बताउनुभयो । हालसम्म ८ सय २ जनामा नमुना परीक्षण गरिएकोमा ३ जनामा संक्रमणको पुष्टि भएको छ । एक जना २ महिना अगाडि नै उपचारपछि संक्रमण मुक्त भई घर फर्किसक्नुभएको छ ।
उहाँले उपत्यकाका तीन अस्पतालमा १३ जना कोरोनाको शंकामा आइसोलेशनमा उपचाररत रहेको बताउनुभयो । सरुवा रोग अस्पताल टेकुमा ४, पाटन अस्पतालमा ६ र कान्ति बाल अस्पतालमा ३ जना आइसोलेशनमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । उहाँले उपत्यका बाहिरका संघ र प्रदेशका अस्पतालमा पनि आइसोलेशनमा उपचार भइरहेको भए पनि एकिन तथ्यांक आइनसकेको बताउनुभयो । पछिल्लो २४ घण्टामा कल सेन्टरमा ६ हजार २ सयले फोन गरि कोरोनाबारे सोधेको उहाँले बताउनुभयो ।
आजदेखि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना भाइरस परीक्षण सुरु हुने भएको छ । नियमित प्रेस ब्रिफिङमा प्रवक्ता देवकोटाले कोरोना भाइरस जाँच गर्ने किट (रि–एजेन्ट)सहितको प्राविधिक टोली गइसकेकाले आजैबाट परीक्षण सुरु हुने जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत