फिलिपिन्समा कोरोनाका कारण ९ डाक्टरको मृत्यु, पीपीई अभावले संक्रमण
काठमाडौं, १३ चैत । फिलिपिन्समा कोरोना भाइरस रोगको संक्रमणबाट ९ जना डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मुटुरोग विशेषज्ञको संख्या अधिक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
फिलिपिन्सको उच्च मेडिकल एसोसियसनका अनुसार मृत्यु भएका डाक्टरहरु कोरोना संक्रमितको उपचारमा अग्र पंक्तिमा थिए र उनीहरुले सुरक्षाको उपकरण नभएको गुनासो गर्दै आएका थिए ।
मेडिकल एसोसियसनका उपाध्यक्ष बेनिटो अटिन्जाले भन्नुभयो अस्पतालहरुमा व्यक्तिगत सुरक्षा उपकरण पीपीईको अभाव छ जसले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई संक्रमण हुने जोखिम उच्च छ ।
उहाँले अग्र स्थानमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई पनि परीक्षण गर्न र त्यसको ७ दिनमा फेरि परीक्षण गरि आफू सुरक्षित रहन आग्रह गर्नुभयो ।
कोरोनाका शंकामा अझै पनि धेरै मानिस अस्पतालमा रहेका जसमध्ये बृद्द–बृद्दा र गर्भवतीहरु रहेका छन् । सयौं स्वास्थ्यकर्मीहरु कोरोनाको आशंकामा १४ दिनका लागि क्वारेन्टाइनमा रहेकाले अस्पतालहरुमा बिरामीको उपचारमा समस्या भएको मेडिकल एसोसियसनका उपाध्यक्ष बेनिटो अटिन्जालाई उद्रृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मनिलाका तीन अस्पतालले पूर्ण रुपमा बिरामीले भरिसकेकाले अब थप बिरामी भर्ना गर्न नसक्ने घोषणा गरिसकेका छन् । कोरोना संक्रमण बढेपछि मुख्य टापू लुजोनमा ५ करोड ५० लाख मानिस घर भित्रै बसिरहेका छन्।
फिलिपिन्समा ७ सय ७ जनामा संक्रमणको पुष्टि भएको छ भने ४५ जनाको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत