जनार्दन शर्माको पहलमा रुकुममा २१७ जनालाई राखियो क्वारेन्टाइनमा
रुकुम, १३ चैत । रुकुमको चौरजहारी नगरपालिकामा भारत लगायतका कोरोना प्रभावित स्थानबाट आएका २ सय १७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । मजदुरीको सिलसिलामा छिमेकी देश भारतबाट आएका १ सय ८६, कतार ७, साउदी अरबबाट १, काठमाडौबाट गएका २१, महोत्तरीबाट गएका १ र झापाबाट गएका १ जना गरि आजसम्म प्रभावित स्थानबाट आएका २ सय १७ जना पहिचान भएको नगर स्वास्थ्य संयोजक अकबिर घर्तीले जानकारी दिनुभयो । आजबाट शीतल माध्यामिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राख्न सुरु गरिएको उहाँले बताउनुभयो । विद्यालयमा ९ जनालाई राखिएको छ ।
उनीहरुलाई क्वारेन्टाइनमा आवास, खानपान तथा फ्रि वाईफाईको समेत व्यवस्था गरिएको र थप २० वेड क्षमता रहेको क्वारेन्टाइन बनाउने काम भइरहेको तथा नगरका अन्य स्थानमा समेत कोरेन्टाइनको व्यवस्थापन भैरहेको स्वास्थ्य संयोजक घर्तीले बताउनुभयो। बाँकी आफ्नै घरमा सुरक्षित रही बसिरहेको र घरमा केही असहज भएमा सरकारले व्यवस्था गरेको क्वारेन्टाइनमा आउन सूचित गरिएको पनि उहाँले बताउनुभयो ।
पूर्व गृहमन्त्री एवं नेकपाका कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले प्रभावित स्थानबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्न पहल गर्नुभएको थियो । उहाँले प्रभावित स्थानबाट आएकालाई सम्पर्कमा आएर क्वारेन्टाइनमा बसी संक्रमण नियन्त्रण अभियानमा साथ दिई सचेत नागरिकको भूमिका निर्वाह गर्न रुकुमबासीलाई अपिल गर्नुभएको थियो । संकट निवारणको लागि जनताको पनि उत्तिकै भूमिका रहने हुँदा आफैंले नै आफ्नो परिवार, समाज र देशलाई संकटमुक्त बनाउन स्वतःस्फूर्त रुपमा क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो ।
गोपाल रेग्मी
तपाईँको अभिमत