चुनको घेरामा उभिएरमात्रै सामान किन्न पाइने !
दमक, चैत १३ गते । अत्यावश्यक दैनिक उपभोग्य सामग्री तथा औषधि पसलहरुमा भिडभाड नियन्त्रण र कोरोना भाइरसको संक्रमणबाट जोगाउन निश्चित दूरीमा बस्नका लागि झापाको बिर्तामोड बजारमा घेराबन्दी बनाउन शुरु गरिएको छ । उक्त घेराभित्र बसेर किनमेल तथा आफूलाई आवश्यक सामग्री मगाउनु पर्नेछ । त्यसका लागि अनिवार्य माक्स पनि प्रयोग गरेको हुनुपर्ने बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक कृष्णराज कोइरालाले विदेशमा भएको एउटा प्रयोगको फोटो आफ्नो फेसबुकमा हालेपछि झापाका ब्यवसायीहरुले पनि त्यसलाई शेयर गर्दै यस प्रकारको काम आफूहरुले पनि गर्न सक्ने बताएका थिए ।
बिहिबार बिहानैदेखि केहि व्यवसायीहरुले विर्तामोड बजारमा उपभोक्ता एकअर्कामा नटाँसिने गरी घेरा बनाएका हुन् । झापा विर्तामोडका अगुवा व्यवसायी सन्तोष अग्रवालका अनुसार अत्यावश्यकीय पसलहरु अगाडि चुन प्रयोग गरेर एक अर्कामा नछुने गरी बस्ने लाइन बनाएर घेरावन्दी लगाइएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कायम रहेसम्म यो उपाय अपनाउन व्यवसायीलाई प्रेरित गर्ने पनि अग्रवालले बताउनु भयो । चेम्बर अफ कमर्श झापा र इलाका प्रहरी कार्यालय अनारमनीले यसको व्यवस्थापन गरिरहेको पनि जनाइएको छ ।
यसैगरी झापाको गौरीगन्जमा पनि यस्तै गरिएको छ । स्थानीय आत्मराम राजवंशीका अनुसार गौरीगन्जमा चलेको एक किराना पसलमा यस्तो गरिएको हो । बिहान बेलुका किराना पसलहरुमा ठुलो भिड हुने गरेको छ । बजारमा माक्सको समेत अभाव रहेकाले भिडभाडमा जोखिम बढि हुने भन्दै यस्तो गरिएको बताइन्छ ।
जिल्ला प्रशासन कार्यालय झापाले अत्यावश्यकीय दैनिक उपभोग्य सामग्री किनमेलका लागि रोक लगाएको छैन । साँझ ६ बजेदेखि प्रायजसो पसलहरुमा भिड लाग्ने गरेको छ । दमकस्थित सिग्देल डिर्पाटमेन्ट स्टोरका प्रोपाईटर लोकनाथ सिग्देलका अनुसार मौज्दात रहेसम्म सामानहरु उपभोक्तालाई उपलब्ध गराइने छ । एकैसाथ ठूलो भिड हुँदा आफूहरु पनि जोखिम मोलेर पसल खोलिरहेको उहाँको भनाइ छ ।
गोरखापत्र अनलाइनबाट
हेल्थपाटी
तपाईँको अभिमत