तीन करोड नेपाली लकडाउनमा, कठोर निर्णय, अब के हुन्छ ?
बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद
काठमाडौं, ११ चैत । विश्वमा धेरै ऐन, नियम तथा कानुनहरु सकेसम्म कार्यान्वयन गर्न नपरोस् भन्ने हेतुले बनाइएको हुन्छ । किन कि यस्ता ऐन, नियम र कानुनको कार्यान्वयन यस्तो अवस्थामा गरिन्छ कि जतिबेला समस्या समाधानका लागि कुनै विकल्प हुँदैन । नेपाल सहित विश्वलाई अहिले त्यस्तै बाध्यता आइलाग्यो । आजसम्म विश्वका १ सय ९० वटा देशमा कोरोना भाइरस रोगको महामारी फैलिएको छ । हो, महामारी नियन्त्रण र रोकथाम । नेपालले पनि महामारी नियन्त्रणका लागि संक्रामक रोग ऐनको कार्यन्वयन गर्नुपर्ने अवस्था आयो । कोरोना भाइरस रोकथाम नियन्त्रणका लागि आज बिहान ६ बजेदेखि एक हप्ताका लागि नेपालभर लकडाउन सुरु भएको छ ।
यो अवस्थामा तोकिएको उडान बाहेक सबै उढान बन्द हुन्छन् भने सार्वजनिक तथा नीजि यातायातका सवारी साधन पूर्ण रुपमा बन्द हुनेछन् । विद्यालय, बजार, अत्यावश्यक बाहेकका सबै पसल बन्द हुन्छन् । अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर निस्कन पाइने छैन । सुरक्षा, खाद्यवस्तु, दूध, खानेपानी, औषधि, भन्सार, क्वारेन्टाइन, सञ्चार लगायतका अत्यावश्यक कर्मचारी मात्र बाहिर हिँड्डुल गर्न पाउनेछन् ।
नेपालमा बि.सं. २०२० मा बनेको संक्रामक रोग ऐन अनुसार संक्रामक रोग नियन्त्रण र रोकथामका लागि सरकारले लकडाउन गरेको हो । यो नियम जनताले पालना गर्नुपर्छ । अवज्ञा गरे एक महिना कैद र एक सय रुपियाँ वा दुबै सजाय भोग्नुपर्छ । संक्रामक रोग ऐन २०२० मा कस्तो सजायको व्यवस्था छ ?
विशेष व्यवस्था गर्ने अधिकार
(१) नेपालभर वा त्यसको कुनै भागमा मानिसमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कार्वाही गर्न सक्छ र सर्वसाधारण जनता वा कुनै व्यक्तिहरुको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्नेछ ।
(२) नेपाल सरकारले मानिसमा उब्जेको वा फैलिएको वा फैलिने सम्भावना भएको कुनै संक्रामक रोग निर्मूल गर्न वा सो रोग रोकथाम गर्नको लागि आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार सुम्पन सक्नेछ ।
(३) उपदफा (१) वा (२) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी नेपाल सरकारले पैदल वा जुनसुकै सवारीको साधनबाट लगिने वा ल्याइने सफर गर्ने यात्रुको जाँचबुझ गर्न र त्यस्ता पशु, पंक्षी वा यात्रुलाई कुनै संक्रामक रोग लागेको छ भन्ने शङ्का लागेमा जाँचबुझ गर्न खटिएको कर्मचारीले त्यस्तो यात्रुलाई अस्पताल तथा अन्य स्थानहरूमा अलग गरी राख्न वा कुनै किसिमबाट ल्याउन लैजान वा सफर गर्नमा समेत निरीक्षण र नियन्त्रण गर्नको लागि आवश्यक आदेशहरू जारी गर्न सक्नेछ ।
सजाय
(१) यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा रु. १००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
(२) यो ऐन अन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा रु. ६००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
तुलसा घिमिरे
तपाईँको अभिमत