कोरोनाको संकटलाई संयमित, सचेत र चनाखो प्रयत्नबाट निराकरण गरौँ
चीनको युहानबाट आरम्भ भएको भनिएको नोभेल कोरोना भाइरस अर्थात कोभिड– (नाइन्टिन)को घातक हमला अहिले युरोप र अमेरिकामा पुगेर डढेलो झैँ फैलिइरहेको छ । कोरोनाको यो आततायी डढेलोले अब दक्षिण एसियालाई लपेट्ने स्थिति देखा परिसक्यो । कोरोनाको उदभव भएको भनिएको उत्तरी छिमेकीले यो डढेलो लगभग निभाइसके पनि दक्षिणतर्फ सीमा जोडिएको छिमेकी देश र अन्य नजिकका देशहरूमा संक्रमण तिब्र हुँदै गएको यथार्थ उजागर भइरहेको छ । निकै लामो समय नेपाल किंकर्तव्य विमुड झैं रह्यो । निकट भविष्यमा कोरोना विरुद्ध लड्नु पर्ने लडाइँका बारेमा नेपाल बेखबर जस्तै रह्यो । विश्व परिघटना र जनस्तरमा फैलिँदै गएको आतंक एवम् अन्योल र सचेतन चासोका कारण सरकार झकझकिएको छ । यसै हप्ता विश्व स्वास्थ्य संगठनले विज्ञप्ति जारी गरि कोरोनासँग जुझ्न आवश्यक तयारी नगर्ने हो भने दक्षिण एसिया अब यो घातक डढेलोमा फस्ने निश्चित छ भने पछि बल्ल हामी जर्याकजुरुक उठेका छौँ ।
समय निकै भिड्केपछि गत बुधबार चैत ५ गते नेपाल सरकारले अत्यन्त महत्वपूर्ण निर्णयहरू गरेको छ । सबै शैक्षिक संस्थाहरू, शैक्षिक कार्यक्रम, पठनपाठन, परीक्षासमेत एक महिनाका लागि स्थगन गर्ने, अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कने, भीडभाड हुने गरी कुनै कार्यक्रम आयोजना नगर्ने, कोरोनाग्रस्त देशहरूबाट हुने हवाई आवागमन रोक्ने, सीमाक्षेत्रका स्थलगत नाकाहरूको यातायातलाई कडाइका साथ नियन्त्रण गर्ने, स्वास्थ्य चेकजाँचलाई कडाइका साथ पालना गर्ने गराउने जस्ता निर्णय गरेर कोरोनाको घातक संक्रमणका विरुद्ध निर्मम र कठोर कदम चालेको छ । यस्तो निर्णय गर्न निकै ढिलो भइसकेको थियो । ढिलै भए पनि यो अत्यन्त स्वागतयोग्य कदमका रूपमा हामीले ग्रहण गर्नुको अर्को विकल्प छँदैछैन ।
फेरि पनि केही मानिसहरू किनारामा उभिएर सरकारको यस कदमप्रति तिखो आलोचना गरिरहेका छन् । हिजोसम्म सरकारले केही गरेन भनेर सामाजिक सञ्जालमा चिच्याउनेहरू नै परीक्षा रोक्नु सरकारको नालायकीपन हो, असक्षमताको पराकाष्टा हो भनिरहेका छन् । यस्तो विरोधाभाषले आफ्नो चिन्तनमा रहेको भाइरसलाई प्रस्तुत गरेको छ भन्दा अन्यथा हुने छैन ।
प्रविधि, प्रभाव र पैसाले सम्पन्न भनिएका देशहरूलाई नै कोरोना–प्रकोप थेग्न हम्मेहम्मे परिरहेको र घातक संक्रमणका कारण प्रतिदिन सयौँ नागरिक मृत्युको मुखमा परिरहेको अवस्था छ । इटली, इरान, स्पेन, अमेरिका जस्ता प्रविधि र शक्ति सम्पन्न राष्ट्रहरूसमेत निरुपाय बन्न पुगेको देखिँदै छ । हामी धेरै पछाडि छौँ । यदि त्यो घातक डढेलो हामीसम्म आइपुग्यो भने परिणामका बारेमा कल्पना पनि गर्न सकिन्न । यो एक प्रकारले भयावह स्थिति हो । कोरोना डढेलोका यो भयावह अवस्था आउनै नदिनका लागि हाम्रो सरकारले चालेको यो पहिलो र प्रभावकारी कदममा साथ र सहयोग प्रदान गर्नु हामी नागरिकको कर्तव्य हो । सरकारले गरेका दूरगामी महत्वका यी निर्णयलाई संयमतापूर्वक कार्यान्वयन गर्नुकोअब विकल्प नै छैन । कोरोना संक्रमणको घातक आक्रमणबाट नेपाल र नेपालीलाई जोगाउन यी निर्णय कोशेढुङ्गा सावित हुनेछन् ।
हामी नेपालीहरू इतिहासदेखि नै अनेकन प्राकृतिक प्रकोपहरूको सामना गर्दै आएका छौँ । एकै शताब्दीमा दुईवटा ठूला भूकम्पबाट हामीले हजारौँ आफन्तहरू गुमाएका छौँ । इतिहासका केही कालखण्डमा झाडापखाला, विफर र औलोको महामारीको चपेटालाई हामीले बेहोरेका छौँ । हामी वर्षैपिच्छे बाढी, पहिरो र आततायी दुर्घटनाको शिकार भई सैयौँ आफन्तहरूबाट छुटेका छौँ । नजिकै बितेको नाकाबन्दीको घातक परिणामलाई हामीले सामना गरेका छौँ । सबै खालका राष्ट्रिय संकटबाट छुटकारा पाउन हामी राजनीतिक दल, धार्मिक आस्था, जात र साम्प्रदायिक सोचभन्दा माथि उठेर सामुहिक र साझा मान्यता निर्माण गर्दै अघि बढेको विगत हाम्रो साझा सम्पत्ति हो । हामीकहाँ अहिले कोरोना संक्रमणको एउटा महामारी घातक हमला गर्न आइरहेको छ । हामीबीच रहेका दलीय आस्था, जातीय छेकबार, साम्प्रदायिक भावना, क्षेत्र र जिल्लागत सोच र स्वार्थभन्दा माथि नउठेसम्म यसलाई परास्त गर्न सम्भव छैन । राष्ट्रिय एकता, विश्वबन्धुत्व र भाइचारा भावले मात्र हामीलाई बचाउन सक्छ । हाम्रा सबै चिन्तन सोच, विचार र व्यवहारलाई यस दिशातिर निर्देशित नगर्ने हो भने हाम्रो विनाश अवश्यंभावी छ ।
सरकार हाम्रो अभिभावक हो । अहिले सरकारले गरेका निर्णयहरू हाम्रै जीवन रक्षाका लागि हुन् भन्ने आत्मबोध गरौँ । यो घातक महामारीबाट बचाउन सरकारले गरेका निर्णयहरूलाई शिरोपर गरौँ । निर्णय कार्यान्वयनमा समस्या एवम् कमीकमजोरी हुनसक्छन् । ती कमीकमजोरी सुधार्न र सच्याउन संयमित ढंगले स्वस्थ र सिर्जनात्मक आलोचना, सुझाव र सल्लाह प्रदान गरौँ । आतंकित र सन्त्रस्त मनोविकारबाट मुक्त होउँ । संकटका बेलामा पनि धन सञ्चय गर्न उद्यत रहेका समाजविरोधी तत्वहरूका शंकास्पद गतिविधि र अफवाहहरूमाथि तपाइँ हामी पनि निगरानी राखौँ । आफू बाँचौँ अरुलाई पनि बचाऔँ । कोरोना भाइरस संक्रमणबाट राष्ट्रमा आइपर्न लागेको संकटलाई साझा सहकार्य, सामुहिक सहभागितासँगै संयमित, सचेत र चनाखो प्रयत्नबाट निराकरण गरौँ ।
तपाईँको अभिमत