प्रधानमन्त्रीमाथि यो अत्याचार किन ?
दोस्रो पटकको मिर्गौलाको प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली गत शुक्रबार शिक्षण अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । अघिल्लो दिनसम्म शल्यक्रियामा संलग्न चिकित्सकहरू प्रधानमन्त्री ओली पूर्णरुपमा स्वस्थ हुन छ महिनासम्म लाग्न सक्छ भनिरहेका थिए । शल्य चिकित्साको आठ दिनसम्म ओलीपत्नी राधिकालाई समेत भेट गर्न नदिएको अस्पतालले त्यसको भोलिपल्टै ओलीलाई डिस्चार्ज गरिदियो ।
डिस्चार्ज भई बालुवाटार फर्किने क्रममा आम नागरिकले जे जस्ता दृश्यहरू देखे त्यसले उहाँको स्वास्थ्य अवस्थाप्रति कोही पनि संवेदनशील नरहेको स्पष्ट हुन्छ । उहाँको मुखमा मास्क समेत थिएन, दुईतिर दुईजनाले पाखुरामा उहाँलाई समातेर जबरजस्त हिँडाइएको थियो । उहाँ हिँड्न नसकेर लड्न लड्न खोजेको दृश्य टेलिभिजन स्क्रिनमा हेरेर हामी सबै हतप्रभ र विस्मित भयौँ । प्रधानमन्त्री ओलीलाई यस्तो अवस्थामा डिस्चार्ज गरिहाल्नु पर्ने कार्य र कारण के थियो ? एकजना बिरामीलाई सुविधासम्पन्न अस्पतालमा रहँदाको जस्तो स्वास्थ्य सुरक्षा घर वा क्वाटरमा कति सम्भव छ ?
अस्पतालबाट डिस्चार्ज भएको दोस्रो दिन आइतबार प्रधानमन्त्री ओली पुनः शिक्षण अस्पताल जानुभयो र शल्यचिकित्सा गर्दा शरीरमा राखिएको पाइप हटाइयो । समाचारहरूले यही भनेका छन् । साँझ फेरि उहाँ सार्कराष्ट्र स्तरीय भिडियो कन्फ्रेन्समा सहभागी हुनुभयो । झण्डै दुई घण्टा चलेको कन्फ्रेन्समा करिव दश मिनेट उहाँले सम्बोधन गर्नुभयो । सम्बोधनमा उहाँको बोली स्वाभाविक थिएन । बोलीबाटै पनि अशक्त अवस्था झल्किरहेको थियो । बाँकी सबै समय छवटै सार्कदेशका सहभागीहरूको सम्बोधनलाई एकै आशनमा मूर्तिवत बसेर सुन्नुभयो । सुनिरहँदा पनि उहाँको बसाइ बिलकुल सहज नभइरहेको देखिन्थ्यो । प्रत्यक्ष प्रशारण गरिएको कन्फ्रेन्समा प्रधानमन्त्री ओलीका दायाँबायाँ र पछाडि उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री, ओलीको सल्लाहकार समुहका प्रायः सबै हँसीखुशी मुद्रामा उहाँको यो अवस्थालाई टुलुटुलु हेरिरहेको देखियो ।
सार्क राष्ट्रको भिडियो कन्फ्रेन्सका एक सहभागी हुनुहुन्थ्यो त्यो देशको स्वास्थ्य सहायक मन्त्री । अर्को देशबाट स्वास्थ्य सहायकमन्त्री सहभागी भएको भिडियो कन्फ्रेन्समा हाम्रो देशबाट दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि जटिल शल्यक्रियाको आलो घाउ बोकेर अशक्त रहनुभएका प्रधानमन्त्रीलाई नै सहभागी किन गराइएको होला ? के चिकित्सकहरूले उहाँलाई यसो नगर्न भनेका छैनन् होला ? प्रधानमन्त्रीका निजी चिकित्सक पनि रहनुभएको सबैलाई थाहा छ । उहाँको यस्तो अवस्थामा ती निजी चिकित्सकको अनुमति वा सल्लाह लिएरै उहाँ यसरी सहभागी भइरहनु भएको हो ? यसले हाम्रा प्रधानमन्त्रीको स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पार्ला कि नकारात्मक प्रभाव पार्ला ? अहिले सर्वत्र यी प्रश्न उठिरहेका छन् ।
हो, प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मबल अत्यन्त सुदृढ छ । उच्च मनोबलकै कारण उहाँ यस्तो अशक्त अवस्थामा पनि आफ्नो सक्रियतालाई निरन्तरता दिन खोजिरहनु भएको होला । तथापि रोग, संक्रमण र धपेडीले स्वस्थ मानिसलार्ई त अशक्त बनाउँछ भने उहाँ यसै पनि अस्वस्थ हुनुहुन्छ । उहाँलाई पूर्ण आराम र पूर्ण पथपरहेजमा रहनु पर्ने जटिल अवस्थाकै यस घडीमा उहाँको सक्रियता स्वाभाविक पटक्कै लाग्दैन । यस्तो अस्वाभाविक क्रियाशीलता स्वस्फूर्त हो वा उहाँलाई बाध्य पारिएको हो ? स्वतस्फूर्त हो भने उहाँका निजी चिकित्सक र सल्लाहकारहरू के हेरिरहेका छन् ? बाध्यता हो भने ककसले के के स्वार्थका लागि उहाँलाई यसो गर्न बाध्य पारिँदै छ ? यो देशको पधानमन्त्रीको गम्भीर स्वास्थ्य स्थितिप्रति समस्त देशवासी, अनि हामी सबै चिन्तित छौँ । हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भइरहेको यो अत्याचार नै हो । कृपया यो अत्याचार शीघ्र रोकियोस् । उहाँको स्वास्थ्यमा शीघ्र सुधार होस् र राष्ट्रिय आकाङ्क्षा पूरा गर्न उहाँ पूर्ण स्वस्थ भएर कर्मक्षेत्रमा आउन सक्नुहोस् । हेल्थपाटी यही कामना व्यक्त गर्दछ ।
तपाईँको अभिमत