नर्सको हुन्छ धेरै काम तैपनि किन आउँदैन नर्सकै नाम !
प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणमा नर्सको भूमिका

फोटो : जगन्नाथ ढकाल
काठमाडौं, ३० फागुन । १२ दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उहाँको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । अस्पतालबाट डिस्चार्ज हुने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो उपचारमा संलग्न सबैलाई धन्यवाद दिनुभएको थियो ।
प्रधानमन्त्रीको प्रत्यारोपणमा सात चिकित्सकहरु प्रा.डा उत्तमकुमार शर्मा, प्रा.डा प्रेम ज्ञवाली, प्रा.डा अनन्तकुमार, प्रा.डा.दिव्या सिंह शाह, डा.महेश सिग्देल, डा.मुकुन्द काफ्ले र रविन नेपाली सहभागी हुनुहुन्थ्यो ।
प्रत्यारोपणमा नर्सहरु संगिता गौतम, रबिना महर्जन, सपना श्रेष्ठ, विद्या श्रेष्ठ हुनुहुन्थ्यो । एनेस्थेसिया सहयोगीमा महेश यादव, पुजा देव र सहयोगीमा शुशिला कार्की र दिपक बोहरा हुनुहुन्थ्यो ।
कोपिला श्रेष्ठ पालिखे : (सिनियर नर्सिङ सुपरभाइजर) : प्रधानमन्त्रीको अप्रेशन शिक्षण अस्पतालमा हुने भन्ने निश्चित भइसकेको थियो तर प्रत्यारोपणमा आफू पनि सहभागी हुने भन्ने जानकारी दुई दिनअघि मात्र थाहा भयो । मेरो जिम्मा सुपरिवेक्षण गर्ने थियो, शल्यक्रियाका लागि आवश्यक पर्ने सामानहरु पुरा छ कि छैन सबै चेक गर्नुपर्ने थियो । प्रधानमन्त्रीको प्रत्यारोपणमा आफूहरुलाई सहभागी गराउनाले आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पायाैँ । नेपाली नर्सका लागि यो गौरव र सुखद क्षण हो ।
पुनम सिंह, ओटी नर्स इञ्चार्ज : अप्रेशन थियटरमा ७५ प्रतिशत काम नर्सको हुने गर्दछ । मलाई दुइ दिन अगाडि जानकारी गराइयो प्रधानमन्त्रीको अप्रेशनमा सहभागी हुने कुरा । मलाई शल्यक्रियाको क्रममा चाहिने सामानहरु मिलाउने, औजारहरु गन्नेसम्मको जिम्मेवारी थियो । र मैले अप्रेशन थियटरमा खटिने नर्सको व्यवस्थापन पनि गर्नु थियो । प्रधानमन्त्रीले अस्पताल र हामीलाई विश्वास गर्नुभयो अप्रेशन सफल पनि भयो धेरै हर्षित छौँ ।
मञ्जु गुरुङ, रिसिपेन्टतर्फ : स्क्रब नर्सलाई सहयोग गर्नपर्ने थियो । शल्यक्रियाका बेला चाहिने सामानहरु पास गर्नपर्ने थियो । संक्रमण हुन नदिन सरसफाइमा ध्यान दिनपर्ने थियो । अरु समयमा पनि उस्तै जिम्मेवारी रहे पनि त्यो दिन अलि नर्भस जस्तो भएकी थिएँ । कोही कसैलाई आवश्यक भन्दा बाहेक बोल्न दिइएको थिएन । अरु बेला बिरामी, सर्जन चिकित्सक, एनेस्थेसियाका चिकित्क नर्स, प्राविधिक स्वास्थ्यकर्मी, सरसफाईका कर्मचारीहरु हुन्थे तर प्रधानमन्त्रीको प्रत्यारोपणका दिन शल्यक्रियाकक्ष वरिपरि सुरक्षाकर्मीहरु पनि हुनुहुन्थ्यो त्यो नै मेरो नर्सिङ जीवनको बिल्कुलै नौलो क्षण थियो ।
रोजिना दाहाल, डोनरतर्फ : मेरो भूमिका स्क्रब नर्सको थियो । सरसफाइमा ध्यान दिनुपर्ने थियो र चिकित्सकलाई सहयोग पनि गर्नुपर्ने थियो । अरु बिरामीको प्रत्यारोपणमा काम गरेको भन्दा अलि फरक भयो । भिभिआपी त्यसमा पनि देशको प्रधानमन्त्रीको उपचारमा खटिन पाउँदा खुसी र गर्व लाग्यो ।
अप्रेशन थियटरमा नर्सको भूमिका अधिक रहे पनि यसबारेमा धेरैलाई थाहा नहुन सक्छ र यसका बारेमा जानकारी पनि गराइँदैन । जानकारी गराउँदा चिकित्सकको नाम मात्र अगाडि आउने गरेको घटना प्रशस्तै छन् ।
नर्सको हुन्छ धेरै काम तैपनि किन आउँदैन नर्सको नाम !
घटना एक – शिक्षण अस्पताल महाराजगञ्जमा २०७६ जेष्ठमा पहिलो पटक कलेजो प्रत्यारोपण गरियो । करिव १२ घण्टा चिकित्सकसँगै रहेर बिरामीको उपचारमा खटिएका नर्सको कहिँ कतै नाम आएन ।
घटना दुई – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका क्रममा ८ नर्स, एनेस्थेसियामा सहयोगीमा दुई जना र दुई जना सहयोगी सरसफाइमा हुनुहुन्थ्यो । तर चिकित्सकको नाम आयो नर्स तथा अन्य सहयोगीको नाम उल्लेख गरिएन ।
घटना तीन – प्रधानमन्त्री ओलीको प्रत्यारोपणका क्रममा सहभागी भएका चिकित्सकहरुलाई सार्वजनिक कार्यक्रममा अनुभूति साट्न लगाइयो । प्रत्यारोपणमै खटिएका नर्स तथा अन्य सहयोगीका अनुभव त परको कुरा कार्यक्रमा सँगै उपस्थित गराउनसम्म जरुरी ठानिएन ।
शिक्षण अस्पतालमा मात्रै होइन देशभरका अस्पतालमा नर्स तथा अप्रेशनमा खटिएका अरु स्वास्थ्यकर्मीको पनि नाम उल्लेख गरिएको पाइँदैन । यसले आफूहरुको भएको उनीहरुले महशुस गरे पनि धेरै नर्स तथा स्वास्थ्यकर्मी मौन रहन्छन् ।
तुलसा घिमिरे
तपाईँको अभिमत