विश्व मिर्गाैला दिवस : अस्पताल पुग्दा मिर्गाैला फेल
काठमाडौं, २९ फागुन । मिर्गौला रोग नसर्ने भए पनि यसले विकराल रुप लिइरहेको छ । लक्षण नै थाहा नभइकन भित्रभित्र मिर्गौलाले काम नगर्ने भइसकेको हुन्छ । अस्पताल आइपुग्दासम्म मिर्गौला फेल भइसकेको अनुभव चिकित्सकहरुको छ । चिकित्सकका अनुसार लक्षण नै देखा नपरि मिर्गाैलामा असर गरिसकेको हुन्छ । उच्च रक्तचाप र मधुमेहका औषधी लिइरहेका व्यक्ति अझ बढि सचेत हुनुपर्दछ ।
नेपालमा वर्षेनी ३० लाख मानिसमा मिर्गौला सम्बन्धी कुनै न कुनै समस्या देखिन्छ । जसमा ३ हजार नेपालीको मिर्गाैला फेल हुन्छ । मिर्गौला फेल भएको अवस्थामा डाइलाइसिस वा मिर्गाैला प्रत्यारोपण मध्ये एक गर्नुपर्छ । डाइलाइसिस भन्दा प्रत्यारोपण उत्तम मानिन्छ । मुटु,फोक्सो लगायतका शरीरका अन्य अंगमा समस्या देखिएको अवस्था बाहेकमा प्रत्यारोपण गर्न सकिन्छ । तर प्रत्यारोपणका लागि दाताको क्रस म्याच, तौल, उचाई,मिर्गौलाको आकार लगायतका सबै मापदण्ड मिल्नुपर्ने भएकाले प्रत्यारोपण कमैले मात्र गरिरहेका छन् । त्यसमा पनि मिर्गाैला फेल भएका महिला अझ बढि पीडित छन् । पुरुषको मिर्गाैला फेल भएमा मिर्गाैला दान दिने महिलाको संख्या धेरै छ भने महिलाको मिर्गाैला फेल भएमा उसले मिर्गाैला पाउन कठिन पर्छ, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले भन्नुभयो, ‘२० प्रतिशत महिलाले मात्र मिर्गाैलादाता पाइरहेको अवस्था छ यो दुःखको कुरा हो ।’

हाल विश्वमा ८५ करोड मानिस कुनै न कुनै मिर्गौला सम्बन्धी रोगबाट पीडित छन् । प्रत्येक १० मध्ये एक युवा मिर्गाैला सम्वन्धी पुरानो समस्या लिएर बाँचिरहेका छन् । यो दर बढ्दै गएमा अबको २० वर्षमा मानिसको मृत्यु हुने पाँचौँ कारणमा मिर्गौला रोग पर्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । तर बेलैमा सचेत भए मिर्गाैला सम्वन्धी रोगबाट बच्न सकिन्छ । डा. श्रेष्ठका अनुसार तिन किसिमबाट मिर्गाैलालाई जोगाउन सकिन्छ ।
१. रोग लाग्नु अगाडि सावधानी अपनाउने यसका लागि कम्तिमा वर्षमा एक पटक मिर्गाैलाको परीक्षण गर्ने ।
२. थाहै नपाई मिर्गाैला फेल हुने भएकाले यदि रोग लागेमा समयमा यसको निदान गर्ने । र
३. मिर्गाैला फेल भएमा थप क्षति हुन नदिन उपचार सुरु गरिहाल्ने ।
मिर्गाैला प्रत्यारोपण गरिसकेपछि मिर्गाैला लिने र दिने दुबैले विशेष ख्याल गर्नुपर्दछ ।
१. चिकित्सकको सल्लाह अनुसार नियमित औषधि सेवन गर्नुपर्दछ ।
२. संक्रमणबाट जोगिन भीडभाड भएका स्थानमा नजाने । रुघाखोकी लगायतका सरुवा रोगबाट पीडित व्यक्तिहरुको सम्पर्कमा नबस्ने ।
३. धुमपान,मद्यपान गर्दै नगर्ने,यदी प्रत्यारोपण गरिएका व्यक्तिले धुमपान र मद्यपान गरेमा मिर्गाैलाले काम नगर्ने सम्भावना उच्च रहन्छ ।
४. खानपिनमा ध्यान दिने ।
५. दुखाई कम गर्ने औषधि नखाने ।
६. प्रत्येक ६ महिनामा मिर्गाैलाको अवस्था बुझ्न परीक्षण गर्ने ।
७. चिकित्सकको परामर्श बारम्बार लिइरहने ।
तुलसा घिमिरे
तपाईँको अभिमत