जनावरबाट मानिसमा सरेको रोग : जसले २ लाख २५ हजारको ज्यान लियो
काठमाडौं, २५ फागुन । जुनोटीक डिजिज अर्थात् जनावरबाट मानिसमा सर्ने रोग । विश्वमा हालसम्म ७० प्रतिशत रोग जनावरबाट मानिसमा सरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा वर्षेनी १ करोड मानिस जुनोटिक रोगका कारण बिरामी पर्छन् भने १० लाख मानिसको मृत्यु यही रोगका कारण भइरहेको छ । पछिल्लो दुई दशकमा मानिसमा नयाँ नयाँ रोगको संक्रमण देखिएको छ जसमध्ये ७५ प्रतिशत भन्दा बढी संक्रमण जनावरबाट भएको छ । यहाँ केही प्रतिनिधि जुनोटिक रोगका बारेमा यहाँ चर्चा गरिएको छ ।
जनावरबाट मानिसमा सरेको छ रोग जसले विश्वमा महामारी निम्त्यायो :
कोरोना भाइरस रोग (कोभिड– नाइन्टिन)
अहिले विश्वभर फैलिएको कोरोना रोग संक्रमण पनि जनावरबाट नै भएको हो । विश्वभर महामारीकै रुपमा फैलिएको यो रोगका कारण शनिबारसम्म ३ हजार ४ सय ३० जनाको मृत्यु भएको छ भने एक लाखभन्दा बढी मानिस संक्रमित भएका छन् चीनको युहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण ९० भन्दा बढि देशमा फैलिएको छ, स्थिति भयावह छ । छोटो समयमा यति धेरै मानिसमा संक्रमण देखिएको यो रोगबाट विश्व त्रसित छ । यद्यपि कुन जनावरबाट संक्रमण भएको बारे अनुसन्धान भइरहेको छ । हालसम्म नेपालमा एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । विश्वभर संक्रमण बढेपछि नेपालमा फैलन नदिन सरकारले उच्च सतर्कता अपनाएको छ ।
स्वाइन फ्लू
सुँगुरबाट मानिसमा संक्रमण देखिएको रोग । सुरुमा यो रोग सुँगुर फार्ममा काम गर्ने मानिस र भेटेरिनियनमा देखियो । पहिलो पटक यो रोगको संक्रमण मेक्सिकोमा देखिएको थियो । सुँगुरको प्रत्यक्ष सम्पर्कबाट मानिसमा सरेको यो रोग सन् २००९ मा १९ देशमा तिब्र गतिमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गर्यो । सन् २००९ मा नै स्वाइन फ्लू विकास गरेको भाइरसलाई एचवान एनवानको नामाकरण गरियो ।
स्वाइन फ्लुको महामारीका कारण विश्वभर २ लाख ३ जना मानिसको मृत्यु भएको तथ्यांक विश्व स्वास्थ्य संगठनको छ । ज्वरो आउनु, रुघा, खोकी, नाकबाट पानी बग्नु, आँखा रातो हुनु, झाडापखाला, वान्ता हुनु, टाउको दुख्नु स्वाइन फ्लुका लक्षणहरु हुन् । स्वाइन फ्लुको लक्षण एकदेखि तीन दिनसम्म देखिन्छ । विश्वभर स्वाइन फ्लु सामान्य बन्दै गएको छ । आजभोलि स्वाइन फ्लुलाई मौसमी रुघाखोकीको नामबाट पनि चिनिन्छ । यो समस्या नेपालमा पनि ब्याप्त छ । यो रोग विरुद्ध खोप उपलब्ध छ ।
डेंगी ज्वरो
डेंगी एक लामखुट्टेले सार्ने भाइरल इन्फेक्सन हो जुन फ्लु जस्तै गम्भीर बिरामी बनाउँछ र समयमा उपचार भएन भने मानिसको मृत्यु समेत हुन्छ । डेंगूको उपचार छैन तर सुरुमा नै उपचार भए निको हुन्छ । सन् १६३५ को दशकमा पहिलो पटक भारतमा देखिएको डेंगीले सन् १७७९–१७८० दशकमा एसियामा महामारीको रुप लियो । अहिले नेपालमा वर्षातकाे समय र गर्मी मौसममा डेंगूबाट सयौं बिरामी हुन्छन् ।
आजभोलि एसिया र ल्याटिन अमेरिकामा वर्षात र गर्मी मौसममा डेंगूको संक्रमण धेरै देखिन्छ । १०४ भन्दा बढि ज्वरो आउनु, अत्याधिक टाउको दुख्नु, आँखाको पछाडि भाग धेरै दुख्नु, मांसपेशी र जोर्नी दुख्नु, वान्ता हुनु, रक्त श्राव भइ अंग कमजोर हुने तथा प्लाज्माको मात्रा कम हुँदै जाँदा मानिसलाई सिकिस्त बनाउँछ । डेंगूका कारण मृत्यु हुने दर १ प्रतिशत रहेको छ । विश्वका आधा जनसंख्या डेंगूको जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । पछिल्लो दशकमा डेंगूका बिरामी १५ गुणाले बढेको छ । सन् २००० मा ४ सय ३० जनामा देखिएको संक्रमण सन् २०१५ सम्म आइपुग्दा बढेर ४ हजार नाघेको छ । प्रत्येक वर्ष १० देखि ४० करोड मानिस डेंगीसंक्रमणबाट प्रभावित हुने गर्दछन् ।
इबोला भाइरस
याे भाइरस चमेराबाट मानिसमा सरेकोे थियो । ४० वर्ष अगाडि इबोला भाइरसको संक्रमण देखिएको थियो । अफ्रिकी मुलुक कंगोमा इबोलाका कारण हजारौंको मृत्यु भयो । इबोलाका मृत्युदर ५० प्रतिशत थियो । सन् २०१४ मा गिनियामा इबोलाको संक्रमण देखियो जुन पश्चिम अफ्रिकाको इतिहासमै धेरै मानिसमा संक्रमण फैलिएको थियो । पश्चिम अफ्रिकामा सन् २०१६ सम्म संक्रमण देखियो । गुनिया, लाइबेरिया र शेररा लेयोनमा गरि ११ हजार ३ सय १० जनाको मृत्यु भयो । इबोला नेपालमा देखिएको छैन ।
सार्स भाइरस
सन् २००३ मा चीनमा नै देखिएको सार्स भाइरस बिरालोबाट मानिसमा सरेको थियो । क्यानाडा, सिंगापुर, हङकङ, बेलायत, भियतनाम लगायतका २९ वटा देशमा फैलिँदा ८ हजार ४ सय २२ जना मानिसमा संक्रमण भएको थियो भने ९ सय १६ जनाको मृत्यु भएको थियो । टाउको दुख्ने, झाडापखाला, रुघा खोकी सार्स संक्रमणका लक्षण हुन् । सार्सको संक्रमण नेपालमा देखिएको छैन ।
मर्स कोरोना भाइरस
याे भाइरस उँटबाट मानिसमा संक्रमण भएको थियो । साउदीमा सन् २०१२ मा पहिलो पटक मर्स कोरोना भाइरसको संक्रमण देखिएको थियो । मर्स कोरोना भाइरसले पनि श्वासप्रश्वासमा समस्या गराउँछ । यसका साथै ज्वरो आउनु, खोकी लाग्नु तथा झाडापखाला लाग्नु यस रोगका लक्षण हुन् । मर्स कोरोना भाइरसबाट संक्रमित भएका मध्ये ३५ प्रतिशत मानिसको मृत्यु भएको थियो ।
सन् २०१२ देखि २०२० को जनवरीसम्म मर्स कोरोना भाइरसबाट २ हजार ५ सय १९ जनामा संक्रमण भएको छ र ८ सय ६६ जनाको मृत्यु भयो । साउदीबाट सुरु भएको संक्रमण युएई, दक्षिण कोरिया, ईजिप्ट, ओमान, कतार, बहराइन, लेबनान, इटाली, जोर्डन, मलेसिया, नेदरल्याण्ड, फिलिपिन्स, थाइल्याण्ड, ट्युनिसिया, अमेरिका, यमन, इरान, बेलायत, टर्की अल्जेरिया, अष्ट्रिया, चीन, फ्रान्स, जर्मनी, ग्रिस गरि २७ वटा देशमा फैलिएको थियो । तर संक्रमित मध्ये ८० प्रतिशत हिस्सा साउदीको थियो ।
तपाईँको अभिमत