कोरोना नपड्किएको एम्बुस जस्तो : स्वास्थ्य मन्त्री
काठमाडौं, २३ फागुन । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस नपड्किएको एम्बुस जस्तो खतरापूर्ण रहेको बताउनुभएको छ ।
ससंदमा पेश भएको सार्वजनिक महत्वको प्रस्तावमाथि जवाफ दिदै मन्त्री ढकालले कोरोना भाइरस कुन बेला कहाँ देखिन्छ थाहा नहुने भन्दै एम्बुस विष्फोट भएपछि निम्तने खतराजस्तै रहेको बताउनुभयो । उहाँले यो खतरालाई रोक्न सरकारले उच्च सतकर्ता अपनाउँदै तीन तहमा काम गरिरहेको बताउनुभयो ।
संक्रमण नै भित्रन नदिन अपनाउनुपर्ने पूर्व तयारी, दोस्रो तहमा संक्रमण भित्रिइ हालेमा आवश्यक पर्ने उपचार पद्दती र स्थान तथा तेस्रो तहमा संकटकाल लगाउने सम्मको योजना अनुसार अघि बढेको बताउनुभयो ।
उहाँले विमानस्थलमा प्रत्येक यात्रुको तापक्रम मापन भइरहेको जानकारी दिँदै आन्तरिक उडानका यात्रुलाई समेत परीक्षण सुरु गरिएको बताउनुभयो ।
मन्त्री ढकालले कोरोनाको संक्रमण रोकथामका लागि भन्सार नाका बाहेकमा ३७ वटा स्वास्थ्य केन्द्र बनाउने काम सुरु भएको बताउनुभयो । उहाँले सातवटा हब अस्पताल सहित सेटेलाइट अस्पतालमा १ सय ५५ वटा आइसोलेन वेडको व्यवस्था गरिएको जानकारी गराउनुभयो ।
नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना भाइरसको डर नेपालमा पनि रहेकाले संक्रमणको विरुद्द लाग्न सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुभएको थियो ।
प्रस्तावमा सांसदहरु दिव्यमणि राजभण्डारी र नारायण खड्काले समर्थन गर्नुभएको थियो । यस्तै नेकपाका सांसद भीम रावलले संघीय संसदको सार्वजनिक महत्वको प्रस्तावमा बोल्दै कोरोना भाइरस रोकथामका लागि सबै एक भएर अघि वढ्नुपर्ने सुझाव दिनुभयो । उहाँले भारतीय खुल्ला सीमा नियन्त्रणमा ध्यान दिन माग गर्नुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत