त्यो रातको निद्रा निकै प्रिय थियोः राजदूत पौड्याल
कोरोना भाइरसले संकटग्रस्त चीनको हुबईबाट नेपालीहरु उद्दार गरेर ल्याउनका लागि नेपालका लागि चीनका राजदूत लिलामणि पौड्यालको भूमिका महत्वपूर्ण रहेको छ । चीनबाट १ सय ७५ जना नेपालीहरुलाई उद्दार गरेर ल्याउन कसरी सफलता मिल्यो ? राजदूत पौड्यालले चीनबाट नेपालीहरु उद्दार गर्न के कस्ता कठिनाई भोग्नुपर्यो ? उहाँका तिनै तितामिठा अनुभवलाई यहाँ प्रस्तुत गर्न खोजिएको छ । हेल्थपाटी डटकमका लागि जगन्नाथ ढकालले गर्नुभएको कुराकानीका आधारमा राजदूत पौड्यालको भनाईलाई यहाँ प्रस्तुत गरिएको छ ः
लिलामणि पौड्याल :
सरकारले चीनको हुबईमा रहेका विद्यार्थीहरुलाई उद्दार गर्ने निर्णय गरिसकेपछि राजदूतावास विवरण संकलनमा लाग्यो । धेरै जनाको विवरण राजदूतावासमा पहिल्यै थियो । पछि अद्यावधिक गरेर हामीले नेपाल फर्कन चाहने नेपालीहरुलाई दूतावासको सम्पर्कमा आई अनलाईन फर्म भर्ने व्यवस्था गर्यौं । त्यसमध्ये १ सय ८५ जना नेपालीहरुले फर्म भर्नुभयो ।
त्यसपछि हामीले नेपालीहरु रहेको स्थान एकिन गरेर उनीहरुलाई उद्दार गरी एयरपोर्टसम्म पुर्याउने व्यवस्थाका लागि चीनको विदेश मन्त्रालयल तथा स्थानीय सरकारका प्रतिनिधिहरुसँग सहकार्य गरी सम्पूर्ण व्यवस्था मिलाइ नेपाल सरकारलाई जानकारी गरायौं । विद्यार्थीहरुसँग नियमित सम्पर्कमा रही सूचनाहरु आदानप्रदान गर्दै सरकारले लिन आउने दिनको प्रतिक्षामा रह्यौं ।
सरकारले ३ फागुनमा उद्दार गर्ने निर्णय गरेपछि हामी व्यवस्थापनमा अझ बढी सक्रियताका साथ लाग्यौं । सम्पूर्ण नागरिकहरुलाई उनीहरु रहेकै स्थानबाट एयरपोर्टसम्म पुर्याउने व्यवस्था मिलायौं । विद्यार्थीहरु पाँचवटा शहरमा रहेकाले उनीहरुलाई एयरपोर्टसम्म पुर्याउन कठिनाई थियो । ४ सय देखि ५ सय किलोमिटरसम्मको दुरीमा रहेका विद्यार्थीहरुलाई एयरपोर्टसम्म ल्याउनुपर्ने अवस्था थियो ।
नेपालीहरुको उद्दार गर्ने दिन फागुन ३ गते हिउँ परिरहेको थियो । सम्पूर्ण शहर बन्द थिए । सडक सबै सुनसान थिए । कुनै पनि यातायातका साधन चलेका थिएनन् । निश्चित कामको लागि स्विकृत लिएर मात्र तोकिएका सवारीसाधनहरु चल्न पाउँथे । त्यो दिन नेपालीहरुलाई मात्र उद्दार गर्ने गाडीहरु थिए । सवारी साधन चलाउनलाई निश्चित कोटा, निश्चित समय, निश्चित क्षेत्र बाहेकका अन्य सवारी साधनलाई प्रतिबन्ध लगाइएको थियो ।
नेपाली विद्यार्थीहरुलाई ५ सय किलोमिटर टाढाबाट एयरपोर्टसम्म ल्याउने क्रममा केही घण्टा ढिला भएको थियो । बिहान आठ बजे विद्यार्थीहरु लिएर एयरपोर्टको लागि हिँड्नुपर्ने बस प्राविधिक कारणले गर्दा एक घण्टा ढिला हुँदा झण्डै विमान नै छुटेको थियो । त्यो समयको व्यवस्थापन गर्न धेरै कठिन भएको थियो ।
घटना १
केही विद्यार्थीहरु एयरपोर्ट आउनलाई पाँचसय किलोमिटर लाग्दथ्यो । उनीहरुलाई लिन गएको बस निश्चित समयभन्दा एक घण्टा ढिला भइसकेको थियो । विद्यार्थीहरुलाई लिएर बाटोमा आउँदै गर्दा सुरक्षाकर्मीले बीच बाटोमै रोकेका थिए । उनीहरुलाई झण्डै दुई घण्टा एकै ठाउँ रोकियो । पछि सम्पर्क गर्दा ती विद्यार्थीहरु आइरहेको गाडीको बीमाको नवीकरण नभएकाले उनीहरु बीच बाटोमै रोकिएर बसेका थिए ।
एयरपोर्टमा आउने समय भइसकेपछि किन आएनन् भनेर बुझ्दा उनीहरु चढेको गाडीको बीमा नवीकरण नगरेको हुनाले सुरक्षाकर्मीले रोकेको जानकारी प्राप्त भयो । यता विद्यार्थी लिन जाने विमान काठमाडौंबाट उडिसकेको थियो । विद्यार्थीहरु चढेको गाडीलाई सुरक्षाकर्मीले रोकेको कारण बुझिसकेपछि मैले तत्काल चीनको विदेश मन्त्रालयलाई सम्पर्क गरी घटनाको विवरण सुनाएँ । विदेश मन्त्रालयसँग समन्वय गरी तत्काल वीमा नवीकरण भइरहेको गाडी पठाइसकेपछि सुरक्षा निकायले त्यो ठाउँबाट विद्यार्थीहरुलाई ओरालेर नयाँ गएको गाडीमा चढेर एयरपोर्टसम्म आए ।
घटना २
एकजना विद्यार्थी हुबई प्रान्तमा एक्लै बस्दथे । उनलाई लिन जाने समय दूतावासले तोकेको थियो । हिउँ परिरहेको अवस्था थियो । उक्त विद्यार्थी गाडी छुट्ने डरले राजदूतावासले तोकेको समयभन्दा पनि एक घण्टा अगाडि सडकमा आएर गाडी कुर्दै बस्नुभएको थियो । बसिरहेको बेला त्यहाँको गस्तिमा आएको प्रहरीले सोधपुछ गर्न थाल्यो । सोधपुछ गर्दा उहाँले आफ्नो सम्पूर्ण विवरण बताइसकेपछि त्यहि गाडीमा हिँड्नु हामी एयरपोर्ट पुर्याइदिन्छौ भनेर प्रहरीको गाडीमा हालेर ल्याउँदै गर्दा बाटोमा पुनः एयरपोर्टको सुरक्षाकर्मीले रोक्यो ।
एयरपोर्टको सुरक्षा निकायले त्यहाँभन्दा अगाडि बढ्न नदिएपछि ती नेपालीलाई पहिल्यै ल्याएको प्रहरीले फेरि पहिलेकै ठाउँमा ल्याएर छोडिदियो । प्रहरीले ती विद्यार्थीलाई पहिलेको ठाउँ पुर्याउँदा उहाँलाई लिन आएको बस ती विद्यार्थीलाई नभेटिकन एयरपोर्ट फर्किरहेको थियो । पहिलेको त्यहि ठाउँ पुगेपछि त्यहाँको सुरक्षाकर्मीले एकजना विद्याथी नलिई किन आएको भनेर रोकेको थियो । सुरक्षाकर्मीले लिष्ट अनुसारको मानिस किन नल्याएको भनेर त्यो गाडी पनि राेकियो ।
गाडी रोकिसकेपछि ती व्यक्ति कहाँ छन् भनेर खोज्दै गर्दा ती व्यक्ति पहिले दूतावासले जहाँ बस्नु भनेकाे थियाे त्यहाँ गाडी लिन आउँछ भन्ने स्थानमै थिए । त्यहाँ दुइर्घ ण्टा ढिला भइसकेको थियो । पुनः मैले चीनको विदेश मन्त्रालयमार्फत समन्वय गरी अर्को गाडी पठाएर ती विद्यार्थीलाई एयरपोर्टसम्म ल्याइयो ।
घटना ३
बल्लबल्ल सबैलाई एयरपोर्ट ल्याइयो । फारम भरेका चार जना भने आएनन् उनीहरुले नेपाल नजाने भनेर जानकारी गराएका थिए । लक्षण नदेखिएकाहरुलाई मात्र नेपाल लैजाने निर्णय भइसकेको हुँदा उनीहरु केही लक्षण देखिन्छ कि भनेर सबैजना डराइरहेका थिए । पालै पालो स्वास्थ्य परीक्षण भयो । ६ जना एयरपोर्टमै रोकिए । तनावका बीच आउँदा उनीहरुको तापक्रम बढेको थियो । तर उनीहरुलाई आउन दिइएन । उनीहरु ६ जना नै स्वस्थ छन् ।
घटना ४
एयरपोर्टमा रोकिएका ६ जनालाई फेरि उनीहरु बसेको स्थानसम्म पुर्याउन त पर्यो नै । उनीहरुलाई एक दिन विमानस्थलमा नै बस्ने व्यवस्था गरियो र भोलिपल्ट जहाँबाट ल्याइएको थियो सोही स्थानमा पुर्याउने व्यवस्था गरियो । विमानस्थलबाट ४ सय किमि टाढा पुर्याउन पर्ने थियो । चीनबाट पठाएका नेपाली क्वारेन्टाइनमा राखेपछि र रोकिएकालाई घर पुर्याएपछि त आनन्दमयी निन्द्रा लाग्यो । कति दिनदेखि निन्द्रा नपरेको मेरो त्यो रातको निद्रा निकै प्रिय थियो । महामारीको समयमा इतिहासमा पहिलो पटक ठूलो संख्यामा विदेशबाट उद्दार गर्नुलाई ऐतिहासिक ठानेकाे छु । मैले आफूलाई पनि निकै भाग्यमानी ठानेको छु ।
तपाईँको अभिमत