कोरोनाको उच्च जोखिम : नेपाल फेरि नाकाबन्दीको चपेटामा
काठमाडौं, १७ फागुन । विश्व स्वास्थ्य संगठनले विश्व नै कोरोना भाइरसको अति उच्च जोखिममा रहेको बताएको छ । जेनेभामा बसेको संगठनको बैठकले विश्वभर संक्रमण तिब्र गतिमा रहेकाले कुनै पनि देश जोखिमबाट टाढा नरहेको निष्कर्ष निकालेको छ ।
यो निष्कर्षसँगै नेपाल पनि अति उच्च जोखिममा परेको छ । अति उच्च जोखिममा परेपछि नेपालमा नाकाबन्दीको सम्भावना देखिएको छ । नेपालमा करिव ८५ प्रतिशत सामान आयात गरिन्छ । २०७२ सालको नाकाबन्दी भोगेको नेपाललाई फेरि कोरोनाले संकट पार्ने संभावना बढेको छ ।
यदि नेपालमा कोरोना भित्रिएर नियन्त्रण बाहिर गएमा हाम्रो दक्षिणतर्फको सीमा नाका भारतमा कोरोना सर्ने नाममा बन्द हुने सम्भावना छ । पछिल्लो एक सातामा नै दक्षिण कोरियामा संक्रमण तिब्र भएपछि ५८ वटा देशले दक्षिण कोरियाबाट हुने यात्रामा रोक लगाउनुले पनि संक्रमण नियन्त्रणका लागि विभिन्न देशहरु नाकाबन्दको अभियानमा लागिसकेको देखिन्छ ।
पाकिस्तान, अफगानिस्तान, युएई लगाएतका देशले इरानसँगको सीमा नाका बन्द गरिसकेको अवस्था छ । साउदी अरबले चीनसँगको नाका बन्द गर्नुका साथै यस वर्षको हजयात्रा समेत स्थगित गरेको छ । चीन, दक्षीण कोरिया, अमेरिका र जापानले आपतकालको घोषणा गरिसकेका छन् । युरोपियन मुलुकहरुले पनि कोरोना प्रभावित देशका सीमा नाका बन्द गरेका छन् । अहिले विश्वको ५३ देशमा कोरोना भाइरस फैलिइसकेको छ ।
भारतमा पनि ३ जनामा संक्रमण देखिएकाे छ । भारतले आफ्नो सुरक्षाका लागि अन्य देशले जस्तै सीमा बन्द गरेमा नेपाल फेरि पनि नाकाबन्दीको चपेटामा पर्ने जोखिममा छ । यस्तो अवस्थामा नेपाल कोरोना भाइरस उच्च जोखिम देश घोषणा हुनु नेपालको लागि ठूलो दुर्भाग्य साबित हुन सक्छ । नेपालको उत्तरी सीमा चीनको युहानबाट सुरु भएको कोरोनाका कारण उत्तरी सीमा बन्द जस्तै छ ।
अब नेपालको एक मात्र आयात गर्न प्रयोग हुने बाटो भारतको छ । विश्वभरमा कुनै पनि मुलुकबाट सामान आयात गर्दा भारतको बाटो प्रयोग गरि आयात गरिने सामान आयात हुन नसकेमा नेपालले २०७२ सालको राजनीतिक नाकाबन्दी जस्तै अहिले महामारीका कारण नाकाबन्दी व्यहोर्न नपर्ला भन्ने अवस्था छैन ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत