कोरोना नियन्त्रण मेरो पहिलो प्राथमिकता : महानिर्देशक श्रेष्ठ (भिडियो सहित)
काठमाडौं, १५ फागुन । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले कोरोना नियन्त्रण आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । विश्वभर कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेकाले यसको रोकथामको पूर्वतयारीमा आफू लागेको बताउनुभयो । महानिर्देशक श्रेष्ठले कोरोना नियन्त्रणका लागि विभाग देश दौडाहामा लागेको बताउँदै शनिबारदेखि देशभर सातवटा टोली खट्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो नेपालमा अहिलेसम्म अन्य देशमा जसरी संक्रमण नदेखिए पनि विश्वमा फैलिरहेको संक्रमणको अवस्था हेर्दा जोखिम उच्च छ । त्यसैले समयमा नियन्त्रण हुन सकेन भने भयावह स्थिति आउनसक्छ । त्यसैले विभाग दुई हप्तासम्म गहन तरिकाबाट नियन्त्रणका लागि लाग्नेछ ।
उहाँले विभागले दुई सातासम्म गोष्ठी, सम्मेलन, तालिम लगायतका कार्यक्रम स्थगित गरि विभागको काम कोरोना नियन्त्रणमा केन्द्रित गरेको बताउनुभयो । नेपालमा हालसम्म एक जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ ।
तपाईँको अभिमत