जन्मदिनको अवसरमा प्र.म. ओलीप्रति हार्दिक र मङ्गलमय शुभकामना
राष्ट्रको समुन्नति र समृद्धिका लागि उहाँको अथकित क्रियाशीलता कायम रहोस्

सवैलाई थाहा छ प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुहुन्छ । उहाँको स्वास्थ्य समस्या आजको होइन, एक दशक अघिदेखि नै दुवै मिर्गौलाले काम गर्न छाडेपछि अरुकै मिर्गौला प्रत्यारोपण गराउनु भएको छ । प्रत्यारोपित मिर्गौलाले पनि अहिले आएर राम्रो काम गर्न सकिरहेको छैन र नियमित ‘डायालासिस’ प्रक्रियामा हुनुहुन्छ । आम मानिसभन्दा भिन्दैखालको दृढ इच्छाशक्ति उहाँमा कायम छ । र, त्यही इच्छाशक्ति र उच्च मनोबलका कारण शारीरिक समस्यालाई मिचेर उहाँ हामी कसैले सोचेभन्दा बढी क्रियाशील हुनुहुन्छ । अस्वस्थ रोगी विरामी जो पनि हुन्छ, भइरहेको छ तर प्रधानमन्त्री ओलीको जस्तो दृढ इच्छाशक्ति र उच्च मनोबल सबै मानिसमा नहुँदो रहेछ ।
प्रधानमन्त्री ओली अहिले नेपाली राजनीतिको केन्द्रविन्दुमा हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष ओली अस्वस्थ अवस्थामै यो राष्ट्रको प्रधानमन्त्री पदमा दोस्रोपटक निर्वाचित हुनुभएपछि उहाँको पार्टीभित्रै र प्रतिपक्षीको कित्ताबाट समेत अनेकन टीकाटिप्पणी नभएका होइनन् । रोगी बिरामीका काँधमा राष्ट्रको मूल जिम्मेवारी दिइनु उपलब्धीमूलक हुन्न भन्ने जस्ता आलोचना नसुनिएका होइनन् । तर भित्र र बाहिरका सबै टिप्पणी र आलोचनाहरूलाई उहाँको दृढ मनोबल, उच्च इच्छाशक्ति र निरन्तरको सक्रियताले जवाफ दिइरहेका छन् ।
मुलुकले यसअघि पनि अस्वस्थ प्रधानमन्त्रीहरू पाएको थियो । गिरिजाप्रसाद कोइराला र सुशील कोइराला पनि अस्वस्थताकै बीच प्रधानमन्त्रीको पदीय जिम्मेवारीमा रहनुभएको थियो । राज्य सञ्चालनका दैनन्दिन कार्यमा उहाँहरूको सक्रियता कस्तो थियो हामीलाई थाहा नभएको होइन । तर अस्वस्थ अवस्थामै पनि प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाशीलता कतिपय मानिसहरूका लागि पत्याइ नसक्नुको पहेली बनेको छ । ६८ वर्षको उमेर नाघिसकेर र मिर्गौला प्रत्यारोपणको एक दशक व्यतित गरिसक्नु भएका ओली राष्ट्रसेवामा जसरी खटिरहनु भएको छ, मुलुकको राजनीतिक, आर्थिक, सामाजिक अग्रगति र समृद्धिका निम्ति आफ्नो समय जसरी कार्यशील ढङ्गले अर्पण गरिरहनु भएको छ, यो एउटा अद्वितीय उदाहरण हो ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन । आजकै दिनबाट उहाँ ६९ वर्ष प्रवेश गर्नु भएको छ । आफ्नो जन्मदिन मनाउन उहाँ तेह्रथुमको आठराईमा रहेको आफ्नो पुख्र्यौली घर पुग्नुभयो । ओलीको जन्मघर हालको आठराई गाउँपालिका–४ स्थित तीनसल्ले खानीगाउँमा रहेको छ । यहीँको परम्परागत घरमा ओलीको जन्म भएको र उहाँको बाल्यकाल एवम् किशोरावस्था बितेको थियो । जन्मदिनमा आफू जन्मेहुर्केको घर पुग्नु, आफ्नो बाल्यकालिन विगतको स्मरण गर्नुले मनोवैज्ञानिक ऊर्जा प्राप्त हुन्छ भन्ने कुरा प्रधानमन्त्री ओलीले राम्ररी बुझ्नु भएको छ ।
प्रधानमन्त्री ओलीको दोस्रो कार्यकाल करिव आधा बितिसकेको छ । जनआकाङ्क्षा, आम नागरिकका आशा–प्रत्याशाहरूको एउटा पहाड खडा छ । भ्रष्टाचारले आक्रान्त पारेको मुलुकलाई कायापलट गरी समृद्ध राष्ट्र निर्माण गर्ने ओलीमा जुन इच्छाशक्ति कायम छ, तथापि चुनौतीहरू पनि सँगसँगै छन् । आफैँले भरविश्वास गरेका मानिसहरू नै निहित स्वार्थको जालोमा बेरिएर सम्पत्ति मोहमा फस्तै गएको जुन मनोविकार देखिँदैछ प्रधानमन्त्री ओलीका निम्ति यो अर्को सङ्गीन चुनौती हो ।
प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा हेल्थपाटी उहाँप्रति हार्दिक र मङ्गलमय शुभकामना व्यक्त गर्दछ । उहाँ स्वस्थ रहनुहोस्, सबै प्रतिकुल अवस्था अनुकुल अवस्थामा परिणत हुन् । आन्तरिक र बाह्य सबै खालका चुनौतीहरूको सामना गर्न उहाँ सक्षम हुनुहोस् । राष्ट्रको समुन्नति र समृद्धिका लागि उहाँको अथकित क्रियाशीलता कायम रहोस् ।
तपाईँको अभिमत