कोरोनाको संक्रमण बढेपछि दक्षिण कोरियामा आपतकाल घोषणा
देगु र चङ्डु शहरका २५ लाख मानिसलाई घरबाहिर ननिस्कन अपिल
एजेन्सी, ९ फागुन । दक्षिण कोरियाले आफ्नो देशमा थप कोरोना भाइरसको संक्रमण देखेपछि आपत्कालको घोषणा गरेको छ । दक्षिण कोरियाका प्रधानमन्त्री चुङग साईकुनले टेलिभिजन मार्फत सूचना जारी गरि दक्षिणी शहर देगु र चेङ्गडो शहरलाई विशेष निगरानी क्षेत्रको घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
शुक्रबार ५२ जना मध्ये देगुमा मात्रै ४२ जना संक्रमित भेटिएपछि आपत्कालको घोषणा गरिएको हो । शिन्चेन्जु चर्चमा प्रार्थना गरि फर्किएका ३९ जना बिरामी भएका छन् । यसै हप्ता चर्चमा पुगेकी ६१ वर्षकी महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । त्यसैले चर्चलाई उच्च निगरानीमा राखिएको छ ।
राजधानी सियोलमा ३ जनामा संक्रमण देखिएको कोरियाकाे समाचार संस्था योन्हापले जनाएको छ । देगु र चङ्डु शहरलाई उच्च निगरानीमा राखिएपछि त्यहाँका २५ लाख मानिसलाई घरबाट बाहिर ननिस्कन अपिल गरिएको छ । घरभित्र बस्दा पनि उनीहरुलाई मास्क लगाउन आग्रह गरिएको छ । राजधानी सियोलवासीलाई अन्यत्र शहर जान प्रतिवन्ध लगाइएको छ ।
चङ्डुमा बिहीबार ६३ वर्षका पुरुषको मृत्यु भएको पुष्टि गरिएको थियो । अहिलेसम्म दक्षिण कोरियामा १ सय ५६ जनामा संक्रमणको पुष्टि भइसकेको छ । दक्षिण कोरियामा सुरुमा दुई शैन्य सदस्यलाई संक्रमण देखिएको थियो । दुबै जनाले हालै देगु शहर घुमेका थिए ।
चीनपछि संक्रमण धेरै देखिएको देशमा दक्षिण कोरिया तेस्रो रहेको छ । दोस्रोमा जापान पर्दछ ।
हेल्थपाटी
तपाईँको अभिमत