सम्पादकीय– ५ : इतिहासमै सरकारले गरेको एउटा उल्लेखनीय काम !
चीनको हुबईबाट सुरु भएको कोभिड नाइन्टिन अर्थात नोबेल कोरोना भाइरस रोगले विश्व तताइरहेको छ । नेपालमा पनि चीनको हुबईमा अध्ययन गरेर फर्किएका एक जनालाई कोभिड नाइन्टिन पुष्टि भएसँगै यसले थप चर्चा पाएको हो । चीनको हुबईबाट राष्ट्रिय ध्वजावाहक विमान चार्टड गरि १ सय ७५ जनाको उद्दार गरेर नेपालले इतिहासमा आफ्नो रेकर्ड बनाएको छ । यो सँगै सरकारको प्रशंसा हुन थालेको छ । उद्धार गरिएका नेपालीहरूले आफूले सोचेभन्दा बढी राम्रो व्यवस्थापन गर्न सकेको बताइरहेका छन् ।
चीनमा फैलिएको कोेभिड नाइन्टिनले त्यति चर्चा नपाइरहेको बेला एक नेपालीलाई समेत कोरोना भाइरस रोगको पुष्टि भएपछि नेपालमा समेत त्यसको सन्त्रास फैलियो । चीनमा कोरोना भाइरसबाट नौ जनाको निधन भएपछि कोरोना भाइरसको चर्चा बढ्न थाल्यो । हेल्थपाटी डटकमले आफ्नो प्रकाशन आरम्भकै दिन माघ ८ गते कोरोना भाइरसबारे शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका डा.शेरबहादुर पुनसँग भिडियो अन्तर्वार्ता लिएर हेल्थपाटी डटकमको आधिकारिक युट्युब च्यानलमार्फत प्रकाशित गरेको थियो । हामीले उक्त भिडियो सार्वजनिक गर्दैगर्दा चीनमा जम्मा ४ सय ४० जना संक्रमित भएको पुष्टि भएको थियो । अहिले यो संख्या बढेर ६८ हजार ५ सय भन्दा बढी पुगिसकेको छ ।
माघ नौ गते कोरोना भाइरस रोगबारे भिडियो सार्वजनिक गरेको हेल्थपाटीले त्यसपछिका दिनहरूमा निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा भइरहेको विकसित घटनाक्रम बारे गहन लेख, समाचार तथा भिडियो प्रकाशित गर्दै आएको छ ।
नेपालमा माघ १० गते एक नेपालीलाई कोरोना भाइरस भएको पुष्टि भयो । त्यस लगत्तै हेल्थपाटीले माघ ११ गते ‘सरकार कोरानाभाइरस संक्रमण रोक्न ठोस योजना खै’ शीर्षकमा सम्पादकीय प्रकाशित गर्यो । चीनपछि सिंगापुर, जापान, नेपाल, मेलेसियालगायतका देशमा फैलिएको कोरोना पछिल्लो समय कम्तिमा २८ देशमा फैलिइसकेको छ ।
नेपालमा कोरोना भाइरस परीक्षण गर्ने किट नभएपछि हङकङमा घाँटीको र्र्याल (थ्रोट स्वाब) को नमुना पठाएर नेपालमा एकजनामा कोरोना भाइरस भएको पुष्टि सरकारले गरेको थियो । माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्ध उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभयो । प्रधानमन्त्रीले निर्देशन दिनुभएसँगै नेपालले कोरोना भाइरस विरुद्ध उपचार गर्न विभिन्न अस्पतालहरूमा आइशोलेसन वार्डको व्यवस्था भयोे । तत्काल नेपालले किटको व्यवस्था गरेर माघ १३ गतेदेखि नेपालमै कोरोना भाइरसको परीक्षण सुरु गरेको थियो ।
चीनमा तीब्र गतिमा कोरोना फैलिएसँगै माघ १५ गते चीनका राष्ट्रपति सिजिङ् पिङले कोरोना भाइरस विरुद्ध लड्न विश्व समुदायलाई आह्वान गर्नुभएको थियो । माघ १५ गतेसम्म १४ राष्ट्रमा कोरोना भाइरस फैलिइसकेको थियो । नेपालले त्यो समयमा नेपाल छिर्ने नाकाहरूमा कोरोना भाइरस विरुद्ध हेल्थडेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण सुरु गरिसकेको थियो ।
चीनमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या झण्डै २ सय पुग्न लागेको बेला माघ १७ मा विश्व स्वास्थ्य संगठनले आपतकालिन बैठक बसेर विश्वव्यापी जनस्वास्थ्य आपतकालको घोषणा गर्यो । त्यसपछि कोरोनाले विश्वव्यापी रुपमा झन धेरै चर्चा पायो । अमेरिका, जापान लगायतका देशले आफ्ना नागरिकहरू फिर्ता लैजान थाले । नेपालीलाई पनि स्वदेश फर्काउन दबाब बढ्न थाल्यो र सरकारले पनि नेपालीहरूलाई ल्याउने तयारीको सुरु गर्यो ।
सोही समयमा चीनमा मास्कको चरम अभाव भइरहेको बेला नेपाल सरकारले अरु केही गर्न नसके पनि मास्क त सहयोग गर सरकार भनेर हेल्थपाटीले माघ १८ गते ‘चीनमा मास्कको चरम अभाव, हामी पनि केही सहयोग गरौँन सरकार !’ भनेर सरकारलाई दबाव स्वरुप सम्पादकीय लेख्यो ।
त्यसको ३ दिनपछि नेपाल सरकारले चीन सरकारलाई एक लाखवटा मास्क सहयोग प्रदान गर्यो । यो समाचारले राष्ट्रव्यापी प्राथमिकता पायो । सरकारले ४३ बेडको आइशोलेसन वार्डको व्यवस्था समेत गरिसकेको थियो । आफ्ना छोराछोरीहरू कोठामा नै थुनिएपछि माघ २३ गते उद्धारको माग गर्दै आफन्तहरू स्वास्थ्य मन्त्रालय पुगे ।
चीनबाट उद्धार गरेर ल्याउने मिति भनिदिन अभिभावकहरू पटक पटक स्वास्थ्य, गृह, परराष्ट्रसम्ममा हारगुहार गर्दा समेत सरकारले ठोस जवाफ दिन नसकेपछि आफ्ना छोराछोरीको जीवन बचाइदिन आग्रह गर्दै उनीहरू राष्ट्रिय मानवअधिकार आयोगसम्म पुगे ।
अभिभावकलाई सरकारले किन ढिला हुँदैछ भन्ने कुरा भन्न र बुझाउन नसकेको अवस्थामा हेल्थपाटीले ढिला हुनुका कारणबारे गहन समाचार प्रकाशित गर्यो । र हामीले माघ २६ गते ‘के हाम्रो सम्वेदना मरिसकेकै हो त प्रधानमन्त्रीज्यू’ शीर्षकमा सम्पादकीय लेख्यौँ ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार ल्याउनुपर्ने भएकोले उद्धारमा केही ढिला भएकै हो । ढिलै भए पनि सरकारले फागुन तीनमा भाइरसग्रस्त चीनको हुबईबाट नेपाली नागरिकलाई ल्याउने निर्णय गर्यो । १२ करोड भन्दा बढी रकम खर्च गरेर सरकारले नेपालीहरूलाई उद्धार गरेरै छाड्यो । अहिले क्वारेन्टाइनमा बस्ने नेपालीहरू सरकारसँग खुसीले गदगद छन् । नेपाल सरकारले इतिहासमा एउटा उल्लेखनीय काम गरेको छ ।
पछिल्लो समय सिन्धुपाल्चोकमा समेत कोरोना फैलियो भनेर प्रचारबाजी भयो । सामूहिक रुघाखोकी देखिएपछि गाउँपालिकाले स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयलाई एक दिनअघि पत्राचार गरेपछि यसैलाई आधार बनाएर समाचारहरू सार्वजनिक भए । अहिले रोग नै ल्याएको जसरी खरिपाटी आसपासका स्थानीय बासिन्दाहरू त्रसित भएका छन् । क्वारेन्टाइनमा रहेकाहरूलाई नराम्रो दृष्टिकोणले हेरिरहेको जस्तो देखिन्छ, यो एकदमै गलत छ । यही गलत र भ्रमपूर्ण धारणालाई चिर्न हामी मिडिया र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण छ ।
यसका लागि सञ्चार माध्यमसँग सरकारको समन्वयकारी भूमिका हुन जरुरी छ । स्थानियवासीलाई त्रासमा नरहन र केही परे सरकार छ भन्ने विश्वास दिलाउन जरुरी छ । महामारी र प्राकृतिक विपत्तीको समयमा सरकार र मिडिया सधैं एक अर्काको परिपूरक हुनु जरुरी छ, यसो गरेमा मात्रै जनतामा सही एवं सकारात्मक सूचना प्रकाशन/प्रसारण गरि जनजीवनलाई सामान्य बनाउन सकिन्छ भन्ने मान्यतामा हेल्थपाटी अडिग छ । महामारी नियन्त्रणमा बिल्कुलै नयाँ प्रयासको थालनी गरि विदेशी भूमिमा रहेका आफ्ना नागरिकको अभिभावकत्वको ग्रहण गर्दै उद्दार गर्न सफल भएकोमा हेल्थपाटी टिम नेपाल सरकारलाई हार्दिक आभार व्यक्त गर्दछ । आजको दिन नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।
नरनाथ लुइँटेल
तपाईँको अभिमत