भिडियो : प्रचण्ड आफ्नो स्वास्थ्यप्रति कत्ति सचेत हुनुहुन्छ ...
आफ्नो स्वास्थ्य व्यक्तिगत मात्र नभई समग्र देश र जनताको लागि आवश्यक रहेको महशुस
काठमाडौं २ फागुन । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ६६ वर्षको हुनुभयो । राजनीतिक जीवनमा उहाँ निकै व्यस्त हुनुन्छ । नेपाली राजनीतिका शिखर व्यक्तित्व प्रचण्डको दैनिकीका बारेमा धेरैलाई थाहा नहुन सक्छ । राजनीतिमा जति चनाखो र गम्भीर हुनुन्छ त्यति नै उहाँ आफ्नो स्वास्थ्यप्रति पनि सचेत हुनुहुन्छ ।
अध्यक्ष प्रचण्ड आफ्नो स्वास्थ्य व्यक्तिगत मात्र नभई समग्र देश र जनताको लागि आवश्यक रहेको महशुस गर्नुहुन्छ । त्यसैले पनि आफ्नो स्वास्थ्यलाई उहाँ निकै ख्याल राख्नुहुन्छ । झिसमिसे नहुँदै उहाँको निन्द्रा खुल्छ । संगीत असाध्यै मन पराउने प्रचण्डको दैनिकी गीत संगीतबाट नै सुरु हुन्छ । बिहान ५ बजे उठेपछि ४० मिनेट जति विभिन्न नेपाली, गीत, प्रवचन, प्रगतिशील गीतमा रमाउनुहुन्छ । प्रचण्ड खेल पनि उत्तिकै मन पराउनुहुन्छ ।
गीत संगीतपछि उहाँ टेवलटेनिस खेल्नु हुन्छ । फुटवल, भलिवल पनि मन पर्ने खेल हो । शरीरमा खलखली पसिना आउने गरि खेल्नुहुन्छ । स्नान गरेपछि पत्रपत्रिकामा आएका विभिन्न समाचारका शीर्षक पढ्नुहुन्छ । उहाँले विस्तृतमा समाचार पढ्न भने भ्याउनुहुन्न ।
त्यसपछि उहाँको भेटघाट र राजनीतिक छलफल सुरु हुन्छ । दिनभर राजनीतिक दौडाहामा अध्यक्ष प्रचण्डको समय बित्ने गर्दछ ।
प्रचण्डको खानपिन कस्तो हुन्छ त ?
बिहानको नास्तामा कोदो / फापर / गहुँकोरोटी, एउटा अण्डा र तरकारी । उच्च रक्तचाप र मधुमेहको समस्या देखिएकाले अध्यक्ष प्रचण्ड उसिनेको चामलको भात र ढिँडो खानुहुन्छ । केहि दिन अगाडिसम्म बिहान नास्ता र करिव १ बजेतिर खाना खाने समय तालिका थियो । तर अहिले प्रचण्डले खानपिनको समयलाई परिवर्तन गर्नुभएको छ । प्रचण्डका अनुसार बिहान खाना र दिउसो खाजा खाने गरि नयाँ समय तालिका बनेको छ । प्रचण्डको स्वस्थ जीवनको रहस्यबारे जगन्नाथ ढकाल र तुलसा घिमिरेले तयार पारेको यो भिडियो हेरौँ ।
तपाईँको अभिमत