सम्पादकीय– ४ : के हाम्रो सम्वेदना मरिसकेकै हो त प्रधानमन्त्रीज्यू ?
८ सयभन्दा बढी मानिसको जीवन समाप्त भइसक्यो, ३० हजारभन्दा बढी मानिस संक्रमित भएका छन्
चीनको युहानबाट शुरु भएको कोरोना भाइरसको घातक आक्रमणबाट आज विश्व आतङ्कित बन्न पुगेको छ । ८ सयभन्दा बढी मानिसको जीवन समाप्त भइसक्यो, ३० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमण चीनको सीमा नाघेर क्रमैसँग बाँकी विश्वतिर सरिरहेको छ ।
यस्तो भयावह स्थितिको सामना गर्न चिनिया नागरिक, चिनिया सरकार र यसका सबै संयन्त्र जसरी परिचालन भइरहेको देखिन्छ, यो देखेर र सुनेर विश्व चकित भएको छ । हप्ता दिनमै हजार हजार वेडको अस्पताल निर्माण र सञ्चालन गरी भाइरस संक्रमित बिरामीहरूको उपचार गर्नु, उच्च सतर्कतालाई कार्यान्वन गर्नु, संक्रमित क्षेत्र युहानलाई बाँकी चीनबाट सबै हिसाबले अलगावमा राख्न सक्नु, संक्रमितहरूको पहिचान र तत्काल उनीहरूलाई सुरक्षित तबरले उपचारको पहुँचमा ल्याउन सक्नु चीनको अभूतपूर्व सफलता हो । संक्रमणबाट मर्नेहरूको संख्या बढ्दै गए पनि संक्रमित संख्याको रेसियोमा चिताइ नसक्नुको कटौती देखिनु त्यही सफलताको संकेत हो ।
संक्रामक आतङ्कबाट आतङ्कित दुई हप्ताको अवधिभित्रै चिनिया भूमिमा रहेका आफ्ना नागरिकलाई सबै देशले आफ्नै देश फर्काइसके । केही देशले आफ्ना नागरिक फर्काउन असमर्थ रहेकाले उनीहरूको जीवन सुरक्षामा चीनले नै मद्दत गरोस् भनेर आग्रह पनि गरे । चीनको भूधरातल जोडिएको छिमेकी देश नेपालका पनि नागरिकहरू संक्रमणग्रस्त युहानमा छन् । उनीहरूको पछिल्लो अवस्थाका बारेमा जानकारीहरू आइरहेका छन् । यता नेपाल सरकारले उनीहरूलाई नेपाल फर्काउने घोषणा गरेको आज दुई हप्ता नाघिसक्यो । फर्किन चाहने नेपालीहरूलाई दूतावासमा आवेदन दिन आव्हान गरेको थियो । उनीहरूलाई तुरुन्तै फर्काएर सुरक्षित आइशोलेसनमा राख्न प्रधानमन्त्री केपी ओलीले सम्बद्ध मन्त्रालय, मन्त्री र निकायहरूलाई निर्देशन दिएको पनि हप्ता दिन पुग्न लाग्यो । तर निर्देशन कार्यान्वयन तर्फको अन्यौलग्रस्त अवस्था देखेर दुनिया छक्क परिरहेको छ ।
चीनमा रहेका नागरिक अलगअलग ठाउँमा सुनसान कोठामा बन्दी झैं रहनु परेको, खाना र पानी समेतको अभाव हुन थालेको, संक्रमित नभए पनि आफ्ना वरिपरि मुत्यु घुमिरहेको जानकारी आफन्तलाई सम्प्रेषण गरिरहेका छन् । उनीहरूका आफन्तजन धर्ना र जुलुस आयोजना गर्दै हाम्रा आफन्त फर्काउन आग्रह गरिरहेका छन् । तर हाम्रो लोसे प्रशासन संयन्त्र भने फर्काइएका नागरिकहरूलाई राख्ने ठाउँ खोज्दैमा हप्ता गुजारी रहेको छ । बल्लबल्ल टुङ्गो लागेका स्थानहरूमा उनीहरूलाई नराखियोस् भनेर पत्राचार, नारा र जुलुसमा व्यस्त छौँ । एकातिर छिटो फर्काऊ भन्दै नाराजुलुस् अनि अर्कोतिर छनोट गरिएका स्थानमा राख्न पाइँदैन भन्दै पनि नारा जुलुस !! यो कस्तो विडम्बना हो ?
चीनमा हप्ता दिनमै हजार हजार शैयाका अस्पताल निर्माण र सञ्चालन गर्न सम्भव भएको समाचार भिडियो हेरिरहँदा हामीकहाँ १८० जनालाई स्वदेश फर्काएर सुरक्षित तबरले दुई हप्ता राख्ने व्यवस्था समेत गर्न पनि यति अलमल ! जब कि चीनबाट क्वारेन्टाइन जाँचमा संक्रमण छैन भन्ने प्रमाणित भएपछि मात्र उनीहरू विमान चढ्नेछन् ।
सरकार, सरकारी निकाय र विभागलाई निर्देशन दिएको यतिका दिन बितिसक्दा पनि किन आफ्ना नागरिकलाई फर्काउने कार्यमा यो अन्योल र अलमल ? उनीहरूलाई फर्काएर राख्नका लागि टुङ्गो लगाइएका स्थानमा सरकारले सुरक्षा निकाय परिचालन गरेरै भए पनि आवश्यक पूर्वाधार तयार गरी सक्नु पर्ने हैन र ? प्रधानमन्त्रीले दिएको निर्देशनपछि सुरक्षा निकाय र उड्यन निकाय तुरुन्तै चीन उड्न तम्तयार अवस्थामा रहेका छन् र उनीहरू आदेश पर्खिरहेको जानकारी बाहिर आएको छ तर त्यो आदेश दिने निकाय र यससँग सम्बद्ध जिम्मेवार व्यक्तिहरू चाहिँ कसको आदेश पर्खिरहेका छन् ? के हाम्रो सम्वेदना मरिसकेकै हो त प्रधानमन्त्रीज्यू ?
तपाईँको अभिमत