सरकारले चीनमा रहेका नेपालीको उद्दार गर्दै, १५ दिन छुट्टै क्वारेन्टाइनमा बस्नुपर्ने
इतिहासमै पहिलो पटक सर्वसाधारणलाई क्वारेन्टाइनमा राख्दै, क्वारेनटाइन अवधिभर परिवारलाई समेत भेट्न नपाउने

काठमाण्डौ,१९ माघ । सरकारले चीनबाट उद्दार गरि ल्याउने नेपालीलाई क्वारेन्टाइनमा राख्न सम्भावित स्थानको खोजी गरिरहेको छ ।
चीनमा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएपछि सुरक्षाका लागि विभिन्न देशले आफ्ना नागरिकको धमाधम उद्दार गर्न थालेपछि नेपाल सरकारले पनि आफ्ना नागरिकलाई फिर्ता ल्याउने प्रक्रृया सुरु गरेको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्री एवं पदाधिकारीहरुलाई बालुवाटार बोलाएर प्रभावित क्षेत्रमा रहेका नेपालीलाई फिर्ता ल्याउन आवश्यक प्रक्रृया अघि बढाउन निर्देशन दिनुभएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरि आवश्यक प्रक्रृया अघि बढाएको छ ।
यसका लागि चीनमा रहेका नेपालीको आवेदन संकलन कार्य भइरहेको छ ।अहिले सम्म १८० जनाले फार्म भरिसकेका छन् । फारम भर्नेमा सबैभन्दा धेरै वुहानबाट ५९ जना,जिङझोउबाट ५० जना,यिन्सीबाट २९ जना,सियानबाट २८ जना,जिङमियानबाट ९ जना र यिचाङबाट ५ जना रहेको बेइजीङस्थित नेपाली दूताबासले जनाएको छ । चीनमा पूरा गर्नुपर्ने थप आवश्यक प्रकृया पनि सुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सम्भावित क्वारेन्टाइन स्थानको खोजी तिब्र रुपमा भइरहेको छ । आवश्यक परेमा छुट्टै होटल वा घनावस्ति बाहिर ३०० जनासम्म बस्न मिल्ने सम्भावित स्थानको अनुगमन समेत भइरहेको छ । अहिले नै क्वारेन्टाइनका लागि यही स्थान हुन्छ भन्ने एकिन नभइसकेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
क्वारेन्टाइन के हो र किन गरिन्छ ?
कुनै पनि व्यक्ति, पशु, बनस्पति वा पशु एवं वनस्पति जन्य पदार्थ एक स्थानबाट अर्काे स्थानसम्म यात्रा गर्दा अथवा गराउँदा त्यसबाट कुनै पनि संक्रमण वा रोग नफैलियोस् भन्नका लागि निश्चित समयसम्म निश्चित स्थानमा राखेर चेक जाँच गर्ने प्रक्रिया नै क्वारेन्टाइन हो । क्वारेन्टाइनमा राख्दा अवस्था अनुसार वा रोगको प्रकृति अनुसार १ देखि ४० दिनसम्म राख्ने अन्तराष्ट्रिय अभ्यास रहेको छ । यद्यपि कोरोना भाइरसको लक्षण १५ दिन भित्रदेखि सकिने हुँदा चीनबाट नेपाल ल्याइने नेपालीलाई कम्तिमा १५ दिन क्यारेन्टाइनमा राख्नुपर्ने हुन्छ । इन्कुभेसन पिरियड भर क्वारेन्टाइनमा राखिएको व्यक्तिलाई कोरोना भाइरसको लक्षण देखिएमा तुरुन्त आइसुलेशनमा राखी थप परीक्षण एवं उपचारको व्यवस्था गर्नुपर्दछ ।
क्वारेन्टाइन रहेको स्थान कस्तो हुनुपर्दछ ?
- क्वारेन्टाइनमा रहने स्थान घनाबस्ति भन्दा बाहिर हुनुपर्दछ ।
- क्वारेन्टाइन रहेको क्षेत्र पूर्ण रुपमा आइसुलेटेड हुनुपर्दछ ।
- प्रत्यक्ष रुपमा अन्य व्यक्ति वा जनावरको सम्पर्कमा आउन नसक्ने स्थान हुनपर्दछ ।
- प्रत्येक व्यक्तिलाई छुट्टाछुट्टै राख्नुपर्दछ ।
- क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु बीच समेत एक आपसमा सम्पर्क हुनुहुँदैन ।
- आइसुलेशन क्षेत्रमा खटिने स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीहरुले सुरक्षित मास्क, पोशाक, चश्मा, पञ्जाको प्रयोग गर्नुपर्दछ ।
- आवश्यक पर्दा तुरुन्त स्वास्थ्यकर्मीलाई भेट्ने र बिरामीको उद्दार गर्न सक्ने व्यवस्था हुनुपर्दछ ।
विमानदेखि क्वारेन्टाइनसम्म पुर्याउँदा ध्यान दिनुपर्ने कुराहरु :
विमानबाट बाहिर निस्कँदादेखि नै पूर्ण सावधानी अपनाउनु पर्दछ ।
यसरी उद्दार गरि ल्याइएको विमानबाट आउने यात्रुको छुट्टै अध्यागमनको व्यवस्था गरि अन्य व्यक्तिहरुसँगको सम्पर्क पूर्ण रुपमा विच्छेद गराउनुपर्दछ ।
विमानस्थलदेखि क्वारेन्टाइनसम्म पुर्याउने यातायातको साधन विशेष प्रकारको हुनुपर्दछ ।
क्वारेन्टाइन स्थलसम्म जान प्रयोग भएका सवारी साधनहरु पुर्ण रुपमा निर्मलीकरण गरेर मात्र पुनः प्रयोगमा ल्याउनुपर्दछ ।
तपाईँको अभिमत