सम्पादकीय– ३: चीनमा मास्कको चरम अभाव, हामी पनि केही सहयोग गरौँन सरकार !
स्वास्थ्यकर्मीहरुले प्लाष्टिकका झोलालाई जुत्ता र रेनकोटलाई गाउनको रुपमा प्रयोग गरेर उद्दार
चीनको हुबई प्रान्तको युहान शहरमा विगत एक महिनादेखि फैलिएको नोवल कोरोना भाइरस अहिले विश्वभर फैलने क्रममा रहेको छ । यसै खतरालाई मध्यनजर गर्दै शुक्रबार विश्वस्वास्थ्य संगठन (डब्लुएचओ)ले जनस्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ । यो संकटको घडीमा चीनका राष्ट्रपति सीजिङ पिङले विश्व समुदायसँग सहकार्य गरी नोवेल कोरोना भाइरससँग जुध्ने र आफ्ना जनतालाई त्रासदीमा नरहन र संयमता अपनाउन अपिल गरिसक्नु भएको छ । चीनले कोरोना भाइरसकै उपचार गर्न एक नयाँ अस्पताल छोटो समयमा नै तयार गरी सञ्चालन गरिसकेको छ भने दुई नयाँ अस्पताल यसै साताभित्र सञ्चालन गर्दैछ । तर अहिले चीनमा मेडिकल मास्क लगायतका सामान्य तर अत्यावश्यक मेडिकल सामग्रीहरुको चरम अभाव हुन थालेको छ ।
करिब डेढ अरब जनसंख्या रहेको चीनमा एक व्यक्तिले एउटा मास्क मात्र प्रयोग गर्दा पनि माग र आपूर्ति बीचको दूरी एक्कासी बढेको छ र मेडिकल सामग्रीको चरम अभाव महशुस हुन थालेको छ । उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले प्लाष्टिकका झोलालाई जुत्ता र रेनकोटलाई गाउनको रुपमा प्रयोग गरेर उद्दार गरिरहेका छन् । यति मात्र होइन, चिकित्सकहरु घण्टौँंसम्म आइसोलेशन वार्डबाट बाहिर निस्कँदैनन् किनकि अर्को पटक वार्डमा प्रवेश गर्दा उनीहरुले प्रयोग गर्ने डिस्पोजेबल गाउन र मास्क हुँदैन । हुबई प्रान्तका मेयरले यो स्थितिमा बिरामीको उपचार गर्न नसक्ने बताइसक्नु भएको छ ।
यस्तो जटिल अवस्थामा जुधिरहेको हाम्रो अनन्य छिमेकी मित्रराष्ट्रलाई आज हामीले गुनको बदला गुन तिर्ने दिन आएको छ । हामीलाई भूकम्पको संकट पर्दा सबैभन्दा पहिले सहयोग गर्न अगाडि सर्ने हाम्रो छिमेकीको दुःखमा हामी पनि सहभागी भई मन, बचन र कर्मले घाउमा मलम लगाउने प्रयत्न गर्न ढिला भइसकेको छ । अझै पनि आफू पीडामा रहँदारहँदै पनि चीनमा रहेका हाम्रो देशको नागरिकको पूर्ण सुरक्षाको ग्यारेन्टी चीन सरकारले लिइरहेको अवस्था छ । सरकार के हामी हाम्रो छिमेकीलाई केही पनि सहयोग गर्न सक्दैनौँ ? हामीसँग जति उपलब्ध छ त्यति मास्क र गाउनहरु तुरुन्त चीनमा पठाउने व्यवस्था गरियोस् र हाम्रो देशको पहलकदमीमा हाम्रो छिमेकीलाई तुरुन्त आवश्यक मेडिकल सामग्रीहरु सहयोग गर्न अग्रणी स्थानमा रहेर भूमिका खेल्न त हामी सक्छौं नि ? हामी आफूलाई आवश्यक पर्दा सबैभन्दा पहिला साथ र सहयोग त उही मित्रसँग माग्छौं नि । के हामीले आफ्नो मित्रलाई परेको संकटको घडीमा सहयोग गर्नु पर्दैन ?
हाम्रो मित्रराष्ट्रलाई पैसाको आवश्यक छैन । यतिखेर चीनलाई आवश्यक सामान्य मास्क र गाउनको उपलब्धताको लागि विश्व समुदायलाई अपिल गर्न त हामी सक्छोँ नि ! यस्तै कार्यमा सहयोग गर्न तथा ऐक्यबद्धता जनाउनका लागि सहज होस् भनेर विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्य आपतकाल घोषणा गरेको होइन र ? सरकार ! हामी आफ्नो मित्रको घाउमा मलम लगाउने अवसरमा किन चुकिरहेका छौँ ? हाम्रो मित्रलाई दुख्दा हामीलाई दुख्दैन र ?
विश्वभर रहेका र कोरोना भाइरसको प्रभावमा नपरेका एवं कम प्रभावमा रहेका राष्ट्रले चीनलाई मास्कजस्तो अति सामान्य तर भाइरस फैलन नदिनका लागि पहिलो एवं अत्यावश्यक मेडिकल सामग्रीहरु चीनको वुहानमा तुरुन्त पुर्याउन अति जरुरी रहेको छ । हाम्रो छिमेकी देशलाई मेडिकल सामग्रीको चरम अभाव रहेको यो अवस्थामा विश्व समुदायबाट सहयोग भित्र्याउँदा भन्सारमा कठिनाई हुन्छ भनेर सम्पूर्ण आवश्यक मेडिकल सामग्रीको आयातमा भन्सार छुटको व्यवस्था समेत गरिसकेको छ । लौ न सरकार ! एक पटक आफ्नो छिमेकी देशको यस्तो अपठ्यारोमा यति सानो सहयोगमा हात बढाउन किन कन्जुस्याइँ ?
तपाईँको अभिमत